Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालगञ्जमा न्याथमको शाखा विस्तार

नेपालगञ्जमा न्याथमको शाखा विस्तार


काठमाडौं ।
होटल तथा पर्यटन क्षेत्रलाई सहयोग पुग्ने गरी नेपाल होटल तथा पर्यटन प्रतिष्ठान (न्याथम)को शाखा नेपालगञ्जमा विस्तार भएको छ । पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइ हुुने त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त कलेज सञ्चालनका लागि न्याथम विस्तार भएको हो । प्रदेश ५ सँगै कर्णाली र सुदूरपश्चिमका विद्यार्थीका लागि बीएचएम, बीटीएम पढाउने गरी शाखा विस्तार गरेको न्याथमले होटल म्यानेजमेन्ट र टुरिज्म म्यानेजमेन्टका दक्ष जनशक्ति उत्पादनका लागि नेपालगञ्जमा उच्च शिक्षाका कक्षा सञ्चालन गर्नेछ ।

न्याथमको शाखा विस्तारका लागि बनेका सम्भाव्यता अध्ययन समितिले बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीको अध्ययनपछि दिएको सुझावका आधारमा दुई साताअघि नेपालगञ्जमा शाखा राख्ने निर्णय लिइएको थियो । सोहीअनुसार, कार्यालय प्रमुखसहितको टिम मंगलबार नेपालगञ्ज आएको थियो ।

न्याथम टिमलाई स्वागत गर्न गरिएको कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख डा. धवल शमशेर राणाले पश्चिमकै उत्कृष्ट जनशक्ति उत्पादन गर्ने विश्वास गर्दै कलेजको पूर्वाधार निर्माणदेखि जग्गा दिन समेत नेपालगञ्ज उपमहानगरपालिका तयार रहेको बताए । उनले नेपालगञ्जको विकासका लागि हरसम्भव हातेमालो गरेर अगाडि बढिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, न्याथम नेपालगञ्ज प्रमुख बिपिन नेपाल, नेकपा नेता रत्न खत्री, नाटा नेपालगञ्जका अध्यक्ष श्रीराम सिग्देल, हस्पिटालिटी विज्ञ भरत विष्टलगायतले न्याथमको आगमनले होटल र पर्यटन क्षेत्रको जनशक्ति उत्पादनमा नेपालगञ्ज पश्चिम नेपालकै हब बन्ने विश्वास व्यक्त गरे । ‘यो नयाँ प्रयोग पनि हो’, नेपालले भने, ‘यसको सफलताले मुलुकका सबै प्रदेशमा न्याथम विस्तार हुनसक्छ ।’

‘न्याथमले नेपालगञ्जमा कलेज खोल्नु ठूलो उपलब्धि हो,’ रोजगारीदेखि दक्ष जनशक्ति उत्पादनसम्मका सम्भावना औल्याउँदै नाटा अध्यक्ष सिग्देलले भने, ‘सबैको सहकार्यमा यसलाई सफल बनाउनेतर्फ लाग्नुपर्छ ।’

पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ वि.सं. २०२९ मा स्थापित न्याथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालिम सञ्चालन गर्दै आएको छ । हालसम्म न्याथमले सो क्षेत्रमा करिब ४५ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया