Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघ र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच छलफल

महासंघ र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच छलफल


काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेललाई भेटी निर्माण व्यवसायीहरूका समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कँडेललाई विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण निर्माण व्यवसाय थप मारमा परेकोबारे अवगत गराएको हो ।

उपाध्यक्ष कँडेलले म्याद थप र भुक्तानी समस्याका कारण निर्माण व्यवसायीहरू समस्यामा रहेकोबारे आफू जानकार रहेको बताए । उनले छिट्टै विकास मन्त्रालयहरूको बैठक डाकेर समस्या समाधानका लागि ठोस पहल गर्ने आश्वासन दिए । महासंघ प्रतिनिधिमण्डलले निर्माणकार्यको म्याद थप, धरौटी रकम फिर्तालगायतका विषयमा आफ्नो लिखित सुझाव पेश गरेको छ ।

योजना हस्तान्तरण, क्रेडिट लाइनको कमिसन, डिजेलमा लागेको मूल्यअभिवृद्धि कर फिर्ता सम्बन्धमा पनि महासंघले आफ्नो लिखित धारणा पेश गरेको छ । स्रोतमा कट्टी भएको अग्रिम मूल्यअभिवृद्धि कर रकम फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट सम्बन्धमा समेत महासंघले आफ्नो आधिकारिक धारणा राखेको महासंघको विज्ञप्तिमा जनाइएको छ । हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरु निर्माणमैत्री हुने गरी संशोधन गरिनुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

विगत केही समय यता देशका विभिन्न भागमा निर्माणकार्यमा खटिएका निर्माण व्यवसायी र निर्माणकार्यका लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समूहबाट पटक–पटक भइरहेको शृंखलाबद्ध आक्रमण तथा आगजनीका घटनाबारे पनि महासंघ प्रतिनिधिमण्डलले उपाध्यक्ष कँडेलको ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधिमण्डलमा उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल, सदस्य अशोक केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अघिकृत रामचन्द्र गिरीको सहभागिता थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया