Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएसईईको नतिजामा शिक्षकको चरम लापरबाही !

एसईईको नतिजामा शिक्षकको चरम लापरबाही !


बझाङ । शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजामा चरम लापरबाही भएको भन्दै बझाङमा विरोध गरिएको छ । शिक्षकहरूले आफ्ना नजिकका र राजनितिक पहुँच भएका व्यक्तिका छोराछोरीहरूलाई बढी नम्बर दिएको भन्दै विरोध गर्न थालिएको हो ।

विद्यालयमा उत्कृष्ट अंक ल्याउँदै आएका विद्यार्थीका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासनको विरोध गरेका हुन् । जिल्लामा रहेको सत्यवादी माध्यमिक विद्यालयमा अध्यनरत छात्रा नबिना बोहराका अभिभावक शेर बहादुर बोहराले विद्यालयमा प्रथम आउने विद्यार्थीबाहेक अरुको अंक बढी आएको भन्दै विरोध जनाएका छन् । उनले छानबिन गर्ने निकाय भए यसको बारेमा छानबिन गरिदिन आग्रह समेत गरेका छन् ।

नविना कक्षा ९ मा प्रथम भएकी छात्रा हुन् । उनको ३ दशमलव ९५ जीपीए आएको छ । विद्यालयका शिक्षक र राजनीतिक पहुँच भएकाहरूलाई ४ जीपीए दिइएको उनले बताएकी छिन् । यता विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायले केही कमजोरी भएको हुनसक्ने बताए । उनले आफू छोरीको विवाहको लागि धनगढीमा भएका कारण हेर्न नपाएको बताए । ‘मैले बुझ्दा नविनाको जनसंख्या विषयमा कम जीपीए आएको हुनाले अरुको भन्दा कम आएको हुनसक्छ तर अन्य विद्यार्थीभन्दा सबै कुरामा उनी अब्बल छिन्’ उनले भने ।

यसपटक एसईईमा चार लाख ८४ हजार दुई सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या आठ हजार चार सय ४४ छ । गत वर्ष चार लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले नौ हजार तीन सय १९ जनाले ४ जीपीए ल्याएका थिए । जब कि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा एक सय छ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए ।

विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेको थियो । तर, विद्यालयहरूले कार्यविधिविपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्नसक्ने व्यवस्था थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया