Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतामाकोशी आयोजना पूर्ण क्षमतामा सञ्चालन

तामाकोशी आयोजना पूर्ण क्षमतामा सञ्चालन


दोलखा । राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । आयोजनाका सबै युनिटबाट उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।

मंगलबार छैटौँ युनिट सञ्चालनमा आएसँगै आयोजनाका सबै युनिटहरू सञ्चालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत् इलेक्ट्रिकल महाशाखाका प्रमुख पूर्ण गोपाल रञ्जितले जानकारी दिए । यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो असार २९ गते, तेस्रो युनिटबाट साउन ८ गते, चौथो युनिट साउन १८ गते तथा पाचौँ युनिट साउन २६ गतेबाट सञ्चालनमा आएका थिए ।

छैटौँ युनिट सञ्चालमा आएसँगै छवटै युनिटबाट उत्पादित विद्युत् प्रसारण केन्द्रीय प्रसारण लाइनमा जोडिएको महाशाखाका प्रमुख रञ्जितले बताए । अब केही समयपछि नै आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी गोँगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सबस्टेसनसम्म लगिएको छ । साथै आंशिक रूपमा खिम्ती सब स्टेशनबाट काठमाडौँमा पनि विद्युत् प्रसारण गर्न सकिने आयोजनाको भनाइ छ । यसैगरी रोलवालिङ डाइभर्सनको काम पनि अगाडि बढाउने प्रक्रिया चलिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया