Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्योग संगठन मोरङद्वारा उद्योगी व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन

उद्योग संगठन मोरङद्वारा उद्योगी व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन


काठमाडौं । कोभिड १९ को महामारीका कारण उद्योग व्यवसायका क्षेत्रले भोग्नुपरेका व्यावसायिक समस्यालाई दृष्टिगत गरी व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले संकटको समयमा व्यापारको पुनः रणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालीन रणनीति तर्जुमा गर्नुपर्ने बताएका थिए ।

संगठनका सदस्य सौरभ सारडाले आर्थिक विकासको सूत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने गरी काम गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । उद्योग संगठनमा आयोजित कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफ्नो व्यावसायिक रणनीतिलाई पुनः समीक्षा गर्न बाध्य बनाएको बताए । उद्योगीहरुले अबका दिनमा एक व्यावसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

स्रोत व्यक्ति साउथ एसिया सोसाइटी अफ एन्टरप्रेनर्स एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने बताए ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । एक दिने उक्त कार्यक्रममा प्रदेश १ का उद्योगी व्यवसायी, महिला उद्यमीहरु, बैंकर्स, प्राध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको कुरा उद्योग संगठन मोरङले जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया