Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहोटल स्टर्नस्टारद्वारा विद्युत् बक्यौता ३ लाख १४ हजार बुझाउन आलटाल

होटल स्टर्नस्टारद्वारा विद्युत् बक्यौता ३ लाख १४ हजार बुझाउन आलटाल


विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मा रहेको होटल स्टर्नस्टारका सञ्चालकद्वारा लामो समयदेखि होटलको विद्युत् बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युत् कर्मचारीको टोलीमाथि नै कुटपिट गरेको पाइएको छ । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी बुधबार लाइन काट्नका लागि होटल पुगेपछि होटल सञ्चालक तुलसी पोखरेलले हातपात गरेको घट्ना बाहिरिएको हो ।

विराटनगर १२ स्थित होटलका सञ्चालक पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन कर्मचारी विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडामाथि आक्रमण गरेका हुन् । होटलले लामो समयदेखि विद्युत् महसुल नबुझाएका कारण इलेक्ट्रिसियन खतिवडाको टोली लाइन काट्नका लागि होटलमा पुगेका थिए । लाइन काट्न अवरोध पु-याएका होटल सञ्चालक तुलसी पोखरेलले विद्युत् कर्मचारीमाथि अश्लील शब्द प्रयोग गरेर दुव्र्यवहार गर्दै सुरक्षागार्ड र होटलका कर्मचारीको सहयोगमा प्राधिकरणका इलेक्ट्रिसियन कर्मचारी खतिवडामाथि आक्रमण समेत गरेको दाबी पीडित कर्मचारीको छ । कर्मचारी कुटपिटपछि प्राधिकरण कर्मचारी युनियन र कर्मचारी संघले अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही गर्न भन्दै संयुक्त प्रेसनोट जारी गरेका छन् ।

होटल सञ्चालक तुलसी पोखरेलले पनि केही वर्षअगाडि मात्रै उक्त होटल खरिद गरेर सञ्चालन गर्दै आएका हुन् । पोखरेल होटल सञ्चालकभन्दा पनि विशेषगरी घरजग्गा कारोबार गर्ने व्यवसायी भएको कुरा बताइएको छ । पोखरेल विराटनगरमा हुने घरजग्गाको कारोबार क्षेत्रमा समेत विशेष चर्चामा आउने गरेका थिए । समाचारस्रोतका अनुसार होटल सञ्चालक पोखरेलले होटलको गेट बन्द गरेर प्राधिकरणका कर्मचारी खतिवडालाई बन्धक समेत बनाएका थिए । होटल सञ्चालक पोखरेलको आक्रमणमा परेका खतिवडाको अनुहारमा चोट लागेको छ । होटल सञ्चालक तथा जग्गा व्यवसायी पोखरेलले प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्कालाई पनि टेलिफोनमा अश्लील शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएको कुरा कर्मचारीस्रोतले जानकारी दिएको छ ।

होटल स्टर्नस्टारका सचालक तुलसी पोखरेल तात्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारबाट प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकार समेत रहिसकेका कारण पहुँचका भरमा घटनालाई ढाकछोप गर्ने प्रयास भएको भन्दै प्राधिकरण कर्मचारी वृत्तमा असन्तुष्टि बढ्न थालेको छ । प्राधिकरणका अनुसार होटल सञ्चालक तुलसी पोखरेलको होटलले प्राधिकरणलाई तीन लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ । उक्त रकममा २५ प्रतिशत जरिवाना थप हुने प्राधिकरणले जनाएको छ ।

होटलले लामो समयदेखि बक्यौता रकम नतिरेको पाइएपछि प्राधिकरणले कारबाही अघि बढाउँदा होटल सञ्चालक पोखरेल आक्रोशित बनेर कर्मचारीमाथि नै खनिएको दाबी कर्मचारीको छ । मोरङ प्रहरीले समेत घटनालाई ढाकछोप गर्ने प्रयासस्वरूप कर्मचारीलाई मिल्नका लागि व्यापक दबाब सिर्जना गरेपछि होटल सञ्चालकबाट कर्मचारी कुटिएको घटना बाहिरीएको हो । प्रहरीकै दबाबमा होटल सञ्चालक र प्राधिकरण कर्मचारीका बीचमा गत बुधबार मोरङ प्रहरीमा मिलापत्र गराउने प्रयास भएको रहस्य समेत खुल्न पुगेको छ ।

अर्कोतिर विद्युत् कर्मचारीमाथि भएको कुटपिटको कर्मचारी युनियनहरूले विरोध गरेका छन् । विराटनगर विरण केन्द्रस्थित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीलाई यथासिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याएर प्रचलीत कानुन अनुसार कारबाहीको मागसमेत गरेका छन् । यता कार्यालय प्रमुखका रूपमा दुई दिनअघि मात्र विराटनगर वितरण केन्द्रमा हाजिर भएका प्रमुख रोसन खड्का आफैँ उक्त घट्नाबाट पीडित भएका कारण कर्मचारी कुटपिट प्रकरण कहाँ गएर सकिने हो त्यसै भन्न सकिने अवस्था नभएको कुरा कर्मचारीको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया