Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनक्साल भाटभटेनीमा हस्तकला कोसेली मेला

नक्साल भाटभटेनीमा हस्तकला कोसेली मेला


काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी पत्नी सावित्री गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

महासंघले हस्तकलाको आन्तरिक बजार प्रवर्द्धन गर्न हस्तकला कोसेली मेला आयोजना गरेको हो । हस्तकला वर्षको कार्यक्रम र उद्योग परिषद्अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने मेला संयोजक विक्रम सिंह महर्जनले जानकारी दिए । संयोजक महर्जनका अनुसार मेला नक्सालमा १० गतेसम्म सञ्चालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

हस्तकला मेलामा छालाजन्य सामग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, टाँक, सेरामिक, कपडालगायतका स्टल रहेका छन् । मेलाको बैंकिङ पार्टनर सानिमा बैंक तथा प्रवर्द्धकमा ग्यालरी टिबेट हाउस छन् । भाटभटेनीसँगको संयुक्त आयोजनामा भएको मेला कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री वितरण गर्ने भएको छ । सो अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्य, प्रवक्ता सनम शाक्य, हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यलगायतको उपस्थिति थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया