Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआन्तरिक राजस्व विभागद्वारा ९५.३२ प्रतिशत लक्ष्य हासिल

आन्तरिक राजस्व विभागद्वारा ९५.३२ प्रतिशत लक्ष्य हासिल


काठमाडौं । आन्तरिक राजस्व विभागले लक्ष्यको ९५ दशमलव ३२ प्रतिशत लक्ष्य हासिल गरेको छ । बुधबार दशौँ राष्ट्रिय कर दिवसका अवसरमा वार्षिक प्रतिवेदन ०७७/७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा चार खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको जानकारी दिएको हो ।

यस्तै विभागले दुई खर्ब ८७ अर्ब छ करोड मूल्य अभिवृद्धि कर, दुई खर्ब ७७ करोड आयकर तथा एक खर्ब ३४ अर्ब नौ करोड अन्त शुल्क राजस्व सङ्कलन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यक्रममा मन्त्री शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताए । ‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा एकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, उनले भने । उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् । यस्तै मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको उनको भनाइ थियो । यस्तै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।

कार्यक्रममा उनले राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु ।’ कर दिवसमा आयोजित कार्यक्रममा उनले तीनवटा प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न एकाइ/संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता जनाएका हुन् ।

यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउँँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए । ‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कम’, उनले भने, ‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’ कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पु-याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताए । कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबैभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया