Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवीरगञ्ज घरेलु महासंघको २५औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

वीरगञ्ज घरेलु महासंघको २५औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा


वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पूरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

महासंघको महाधिवेशन पहिलोपटक काठमाडौंबाहिर हुनलागेको हो । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महाधिवेशनमा लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीतिनियम र कानुनहरुबारे छलफल गरी ठोस निष्कर्षमा पुग्ने योजना रहेको बताए । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे वीरगञ्जस्थित टाउन हलमा उद्घाटन गर्नेछन् । महाधिवेशनले तीनवटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउनेछ । यस्तै नेतृत्व समेत चयन गर्ने अध्यक्ष गिरीले बताए । गत वर्षसम्मको तथ्याङ्कअनुसार चार लाख ९८ हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएका र करिब दुई लाख ६२ हजारले नवीकरण गरेको देखिएको अध्यक्ष गिरीले बताए ।

अहिले मुलुकमा क्रियाशील रहेका करिब दुई लाख ७० हजारको हाराहारीमा रहेका उद्योगमा आठ हजारजति मझौला र ठूला उद्योग रहेका हुँदा ९५ प्रतिशतभन्दा बढी उद्योगहरु लघु घरेलु तथा साना उद्योगहरु रहेको उनको भनाइ छ । यस्ता उद्योगले अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशत योगदान गरिरहेको उनले जानकारी दिए । योबाहेक झण्डै पाँच लाख परिवार अनौपचारिक रुपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको महासंघको अनुमान छ । यी सबैको गणना गर्दा लघु घरेलु तथा साना उद्योगले मात्रै कुल गार्हस्थ्य उत्पादनको झण्डै १३ प्रतिशत योगदान पु-याइरहेको उनको दाबी छ । साथै उनले भण्डै २७ लाख जनशक्तिाई रोजागरी उपलब्ध गराइरहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशतभन्दा बढी अंशमा योगदान पु-याइरहेको बताए । यति हुँदाहुँदै पनि यो क्षेत्र अझै पनि उपेक्षित रहिआएको उनको गुनासो छ । संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहका बीच दूरी घट्नुको साटो अझ बढिरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरु हरिहर थापा, सूर्य कँडेल, प्रकाश रावल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति, महासंघ पर्सा शाखाका अध्यक्ष हिरालाल शाह कानुलगायतको सहभागिता रहेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरुको प्रमुख छाता संस्था हो । यसअन्तर्गत अहिले तीन सय २८ वटा पालिकाहरुमा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र सातवटै प्रदेशमा प्रदेश संघहरु कार्यरत छन् ।

यससँगै केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झण्डै तीन सय पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् । यसअन्तर्गत झण्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरु महासंघका सदस्य रहेका छन् भने करिब १२ हजार महिला उद्यमीहरु महिला उद्यमी सञ्जालमा जोडिएका छन् । योबाहेक महासंघमा २७ वटा वस्तुगत संघहरु सस्थागत सदस्यको रुपमा रहेका छन् भने एसोसिएट सहकारी र ऊर्जा क्षेत्र गरी थप दुई हजार उद्योगीहरु महासंघका सदस्य रहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x