Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात


धनुषा । छठ पर्वका लागि मधेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनको भनाइ छ । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताए । ‘यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्’, उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताए ।

पूर्वेले भने, ‘छठ पर्व मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।’ फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ । नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेश वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भर पर्नु पर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।

सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला
लायन्स क्लब अफ लिगेसीको आयोजनामा कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुने भएको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत आयोजना हुनेछ ।

भैरहवाको हनुमान मन्दिरमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, प्रिती आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिती पासवान, बबिता धिताललगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिए ।

यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराजलगायत पनि मेलामा आउनेछन् । सामाजिक रूपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए । २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने संघ/संस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताए ।

उनले डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार पाँच सय ५५ रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार पाँच सय ५५ रुपैयाँ, तृतीयलाई १० हजार पाँच सय ५५ रुपैयाँ र पाँच हजार पाँच सय ५५ रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गर्ने जानकारी दिए । यस्तै मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उनले जानकारी दिए । कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ तोकिएको छ । कोभिडको मारका कारण लामो समयदेखि मनोरञ्जात्मक कार्यक्रम नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’का कोषाध्यक्ष विनोद खरेलले बताए ।

‘मेरो क्लब बलियो क्लब’ भन्ने नारासहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सह्राहनीय रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का एरिया चिफ सङ्गम न्यौपानेले बताए । उनले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया