Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशदूधकुण्ड पुग्ने जाने ७५ प्रतिशतले घटे

दूधकुण्ड पुग्ने जाने ७५ प्रतिशतले घटे


सोलुखुम्बु । जिल्लाको प्रसिद्ध तीर्थस्थल सोलुदूधकुण्ड नगरपालिका १ स्थित दूधकुण्ड पुग्ने तीर्थयात्रीको संख्यामा ७५ प्रतिशतले कमी आएको छ । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा पुग्ने भक्तजनको संख्यामा विगतको तुलनामा व्यापक कमी आएको हो ।

जनैपूर्णिमाको अवसरमा लागेको मेलामा करिब पाँच सय जना भक्तजन दर्शनका लागि दूधकुण्ड पुगेको दूधकुण्ड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ङती शेर्पाले बताए । तर अघिल्लो वर्षको मेलामा दुई हजार बढीले दर्शन गरेका थिए । विगतको वर्षभन्दा यस वर्ष संख्यात्मक हिसाबले एक हजार पाँच सय प्रतिशतको हिसाबले ७५ प्रतिशतले कमी आएको हो । विगतको वर्षमा साउनमा जनैपूर्णिमा परेकाले दूधकुण्ड पुग्ने भक्तजनको संख्या उल्लेख्य भए पनि यस वर्ष भदौमा जनैपूर्णिमा परेकाले भक्तजनको संख्या घटेको स्थानीय बताउँछन् । भदौमा वर्षात् बढी हुने र बाटो समेत हिलो हुने भएकाले भक्तजनहरू कम मात्रामा दूधकुण्ड पुग्ने गरेको स्थानीय पेम्बा शेर्पाले बताए ।

समुद्री सतहबाट करिब चार हजार छ सय मिटरको उचाइमा रहेको दूधकुण्ड पोखरीमा हरेक वर्षको जनैपूर्णिमामा मेला लाग्ने गर्छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको समेत विशेष धार्मिक महत्व बोकेको उच्च हिमाली क्षेत्रमा रहेको सो धार्मिकस्थलमा सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायतका जिल्लाबाट भक्तजनहरू दर्शनमा आएको बताइएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले कतिपय भक्तजनहरू लेक लागेर बिरामी पर्ने भएकाले बाटैबाट फर्किएका थिए । विगतका वर्षहरूमा भारतको बिहारदेखि तराईका विभिन्न जिल्ला तथा राजधानी काठमाडौंबाट समेत भक्तजनहरू दूधकुण्ड पुग्ने गरेका थिए ।

यस्तै, मेलाको अवसरमा यस वर्ष भक्तजनले दूधकुण्ड पोखरी क्षेत्रमा तीन वटा मूर्र्ति स्थापना गरेको सोलुदूधकुण्ड नगरपालिका १ का वडाध्यक्ष छोङवा शेर्पाले बताए । दूधकुण्ड सामुदायिक वनका पूर्वअध्यक्ष फुग्याल्जेन शेर्पाले सो मूर्ति स्थापना गरेका हुन् । उनले मन्दिर क्षेत्रमा दुई सय १६ वटा दिप प्रज्वलनका लागि दियो बत्ति पनि चढाएका छन् ।

भेटी संकलनमा २५ प्रतिशतले गिरावट
यस्तै, दूधकुण्ड मेलाको भेटी संकलनमा २५ प्रतिशतले कमी आएको छ । गत वर्ष ६० हजार बढी भेटी संकलन भएको मेलामा यस वर्ष ४५ हजार मात्रै भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पुग्ने भक्तजनहरू घटेसँगै यस वर्ष भेटी संकलनमा कमी आएको बताइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया