Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगरका चार्टर्ड एकाउन्टेन्ट लुनिया राजस्वको निगरानीमा

विराटनगरका चार्टर्ड एकाउन्टेन्ट लुनिया राजस्वको निगरानीमा


विराटनगर । विराटनगरका चार्टर्ड एकाउन्टेन्ट (सीए) पियुस लुनिया आन्तरिक राजस्व विभागको निगरानीमा परेका छन् । विभागले लुनियाले बुझाएको अडिट रिपोर्टको अनुसन्धान थालेको पाइएको छ । व्यवसायीहरूको कारोबारको आम्दानी र खर्चको वार्षिक एवम् अर्धवार्षिक आय विवरण तथा बिक्री विवरण बुझाउन सहजीकरण गरिदिने सीए लुनियाले बुझाएका केही व्यावसायिक फर्मको अडिट रिपोर्टमाथि विभागले अनुसन्धान थालेको हो ।

कोशी प्रदेशअन्तर्गत मोरङ, सुनसरी र झापा जिल्लामा रहेका आन्तरिक राजस्व कार्यालयसहित ठूला करदाताको कार्यालय काठमाडौं समेतमा पुगेर व्यापारीको हिसाब विवरण बुझाउँदै आएका लुनियाले केही सीमित व्यक्तिहरूको विवरण मिलाउने नाममा व्यावसायिक विवरणमा गम्भीर गल्ती गरेको राजस्वको आशंका छ । स्रोतका अनुसार लुनियाले आईक्यानले दिएको निर्देशनविपरीत पाँच सयभन्दा बढी फर्म र संस्थाको फाइल हेर्ने गरेका छन् । त्यसबाहेक लुनियाले धरान, इटहरी, उर्लाबारीदेखि काठमाडौंसम्म नै पुगेर व्यवसायीको कारोबार विवरण बुझाउँदै आएका छन् । यस विषयमा पनि आईक्यानले छानबिन सुरु गर्नुपर्ने स्रोतको दाबी छ । विराटनगरमा रहेका केही लघुवित्त, फाइनान्स कम्पनी र केही बैंकहरूको समेत अडिट रिपोर्ट बनाउने गरेका छन् ।

केही वर्षअगाडि सुनसरी र मोरङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका अर्का एक चार्टर्ड एकाउन्टेन्टले पनि विराटनगरको पूर्वाञ्चल विश्वविद्यालयमा गरेको अडिटलाई लिएर विवादमा तानिएका थिए । उनले गरेको अडिट रिपोर्टमा पूर्वाञ्चल विश्वविद्यालयमा करोडौँको भ्रष्टाचारलाई ढाकछोप गरेको आरोप लागेको थियो । उनको अडिट रिपोर्टमा प्रश्न गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो विश्वविद्यालयमा भएको अनियमितताका सम्बन्धमा सत्यतथ्य बुझी रिपोर्ट बनाउनका लागि छानबिन समिति नै गठन गरेको थियो । अहिले विराटनगरका केही व्यावसायिक फर्मको अडिट रिपोर्टमाथि आन्तरिक राजस्व विभागले प्रश्न गर्दै त्यस्ता फर्मको व्यावसायिक फाइलमाथि नै अनुसन्धान सुरु गरेको छ । योसँगै फेरि विराटनगरमा रहेका चार्टर्ड एकाउन्टेन्ट विवादमा तानिएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया