Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यका भित्रिने नाका जाँचमा थप कडाइ

उपत्यका भित्रिने नाका जाँचमा थप कडाइ


काठमाडौं, वैशाख २५
ट्राफिक प्रहरीले उपत्यका भित्रिने नाकाहरूको चेकजाँचमा थप कडाइ गरेको जनाएको छ । काठमाडौँबाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरू भित्रिन थालेपछि नाकामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौँ उपत्यका भित्रिने मुड्खु, नागढुंगा, साँखु, जगाती, भिमढुंगा नाकाहरूको यस एक हप्तामा अनुगमन समते गरेको छ । काठमाडौँ उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिति बुझ्न, नाकामा हुने चेकजाँच कडाइ गर्नका लागि अनुगमन तथा निरीक्षण गरिएको जनाइएको छ ।

काठमाडौँ बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरू लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले बताए । उनले भने, ‘अत्यावश्यक मालबाहक सवारीहरूमा मानिसहरू लुकेर काठमाडौँ आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौँ । हामीले नाकाहरूमा तीन/चार घण्टा पनि बितायौँ तर त्यस्तो पाइएन ।’

‘रातारात मान्छे काठमाडौँ भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था छैन,’ ढकालले भने, ‘नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम वस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिँदै गरेका भेट्यौं । ती गाडिहरूमा चालक र सहचालक मात्र थिए ।’

‘हामीले काठमाडौँको जनजीवनलाई सहज बनाउन जे सामग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य सवारी साधनहरूलाई फर्काउने गरेका छौँ,’ उनले भने । ती विभिन्न नाकाहरूमा पुगेर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको टोलीले सुरक्षाकर्मीहरूलगायत मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क, सेनिटाइजरसमेत वितरण गरेका छन् । ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकाहरूमा खटिएका सुरक्षाकर्मीहरूलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न निर्देशन दिनुका साथै उनले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै यस महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरे ।

‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार पाँच सय नियन्त्रणमा : काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने चार सय सात महिलासहित १५ सय ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार मात्रै उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसैगरी पाँच सय ८० वटा दुईपांग्र्रे र ४९ वटा चारपाङग्रे गरी छ सय २९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौँमा सबैभन्दा बढी एक हजार तीन सय ३९, ललितपुरमा दुई सय ३२ जना र भक्तपुरमा १३ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानीय निकायको समन्वयमा ८७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया