Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरेलमा १० नेपालीको ज्यान कसरी गयो, रकेट प्रहारबाट कि गोली लागेर?

इजरेलमा १० नेपालीको ज्यान कसरी गयो, रकेट प्रहारबाट कि गोली लागेर?


काठमाडौ,प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिनाअघि मात्र इजरेल पुगेका १० नेपालीको हमासका लडाकुहरूले गरेको आक्रमणमा परी ज्यान गएको इजरेलस्थित नेपाली दूतावास तथा काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेका छन्। तर उनीहरू कसरी उक्त आक्रमणमा परे भन्ने प्रश्न धेरैले सोध्न थालेका छन्।

इजरेलमा द्वन्द्व र गोलाबारुद नौलो नभए पनि उसले सुरक्षाका लागि अपनाउने अत्याधुनिक उपाय तथा प्रयोग गर्ने अस्त्ररोधक प्रविधिले हतपत त्यहाँ ठूलो मात्रामा मानिसहरूको ज्यान गइहाल्दैन भन्ने धेरैको विश्वास थियो।

कृषि विज्ञानमा स्नातक गरेका ती नेपाली विद्यार्थीहरू एकै स्थानमा साङ्घातिक आक्रमणमा परेपछि इजरेलमा रहेका अरू क्षेत्रका नेपालीलाई पनि ‘त्रसित बनाएको’ त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

मृतक र घाइते नेपालीहरू कसरी आक्रमणको चपेटामा परे भन्नेबारे नेपाली कूटनीतिक अधिकारीहरू र इजरेलस्थित गैरआवासीय नेपालीहरूले निर्क्योल गर्न सकेका छैनन्।

बीबीसीले कुराकानी गरेका अधिकारीहरू र इजरेलस्थित नेपालीहरूले ती १० जना आक्रमणमा पर्दाको अवस्थाबारे फरकफरक विवरण दिएका छन्।
यद्यपि एउटा कुरामा भने सबै पक्ष सहमत देखिन्छन्ः “भर्खरै इजरेल गएकाले उनीहरूले त्यहाँको सुरक्षा व्यवस्था र आक्रमणका बेलामा बच्ने उपायबारे पर्याप्त जानकारी नपाएका हुन सक्छन्।”

यद्यपि त्यसलाई पुष्टि गर्न पनि केही समय कुर्नुपर्ने र आक्रमणमा परेर घाइते भएका तथा उक्त समूहमै भएर पनि सुरक्षित रहेकहरूको विवरणमा भर पर्नुको विकल्प नरहेको अधिकारीहरूको भनाइ छ।

राजदूत के भन्छिन्?
नेपालीहरू कसरी मारिए भन्ने विषयमा यकिन गर्न अझै केही समय लाग्न सक्ने इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालको भनाइ छ।

सोमवार बिहान बीबीसीसँगको कुराकानीमा उनले भनिन्, “अहिलेसम्म हामीले पाएको विवरण अनुसार उहाँहरूलाई रकेटबाट खसेका कुराले पनि लागेको र गोली पनि लागेको भन्ने छ। तर अस्पतालले रिपोर्ट नदिईकन सबै कुरा भन्न सकिन्न।”
केही नेपाली सञ्चारमाध्यमले उक्त घटनाका पर्ने अरू नेपालीहरूसँग टेलिफोनबाट प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूलाई उद्धृत गर्दै ग्रिनेड आक्रमण र गोली प्रहारबाट पहिले घाइते भएका नेपालीहरूको मृत्यु भएको जनाएका छन्।

त्यस्ता विवरणमा घाइतेमध्ये कतिपयको उच्च रक्तश्रावका कारण निधन हुन पुगेको पनि उल्लेख छ।

यद्यपि नेपाली दूतावासका अधिकारीहरू आफूसँग विस्तृत जानकारी नभएको बताउँछन्।
गोली लागेको हुन सक्ने सम्भावना कति?
गैरआवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारी मृतकहरूलाई गोली नै लागेको हुने सम्भावना देखिएको बताउँछन्।

आक्रमण सुरु भएपछि मृतकहरूसँगै रहेका केही नेपालीसँग सम्पर्क भएको र सोही समूहका सुरक्षित रहेका दुई जनालाई सोमवार तेल अभिभ ल्याइएपछि उनीहरूसँग पनि कुरा गरेको उनले बताए।

“उहाँहरू सबैसँगको कुराकानीपछि गोली नै लागेको भन्ने बुझिएको छ,” उनले भने।
“यसपालि हमासले इजरेलभित्रै छिरेर अन्धाधुन्ध गोली प्रहार गरेको छ। त्यसै क्रममा नेपालीहरूलाई पनि लागेको भन्ने बुझिन्छ तर शवहरू अस्पतालले हस्तान्तरण गरेपछि अवस्था हेरेर मात्र थप भन्न सकिन्छ।”
घटना कहाँ भएको हो
मृतक १० जना ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालबाट इजरेल गएका थिए।

उनीहरू दक्षिणी इजरेलको गाजानजिकै रहेको सेडाट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षण लिइरहेका थिए।

उक्त कृषि फर्ममा कुल १७ जना नेपाली रहेकामा १० जनाको निधन भयो। चार जना घाइते भए।

सकुशल रहेका दुईजनालाई अहिले तेल अभिभ ल्याइएको छ भने एक जना अझै बेपत्ता छन्।
नेपालीहरू त्रसित तर अन्यत्र कस्तो छ अवस्था
विशेषतः केही समयअघि मात्र इजरेल गएका नेपालीहरू अहिले चिन्तित र त्रसित अवस्थामा रहेको पाइएको छ।

लामो समयदेखि इजरेलमा रहेकाहरूमा “आक्रमणका बेलामा कसरी सुरक्षित हुने” भन्ने अनुभव रहेको तर भर्खरै जानेहरूलाई त्यसबारे कतिपय कुराहरू थाहा नहुँदा पनि चिन्ता बढेको भण्डारीले बताए।

“अहिले दक्षिणी क्षेत्रमा मात्र अवस्था केही गाह्रो भएको हो त्यो पनि आक्रमण सुरु भएको दिनभन्दा धेरै कम भइसकेको छ तर हालसम्म आक्रमणको कुनै प्रभाव नपरेको उत्तरी क्षेत्रमा रहेका नेपालीहरू पनि चिन्तित र त्रसित हुनुभएको छ,” उनले भने।
“यस्तो बेलामा हामीले संयम अपनाउनुपर्ने र डराएकाहरूलाई थप त्रसित नबनाउने र गाजाको सीमा क्षेत्रमा बङ्करमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने छ। तर ‘इजरेलभरि नै अवस्था ठिक छैन’ भन्ने हल्ला फैलाउनु हुँदैन।”

उनी इजरेलमा प्राय: यस्ता हमलाहरू भइरहने भएकाले पनि नेपालबाट इजरेल पठाइने विद्यार्थी तथा कामदारलाई “सुरक्षित रहने तरिका र सुरक्षा अवस्था”बारे अभिमुखीकरण दिएर मात्र पठाउनुपर्ने आवश्यकता अहिलेको घटनाले देखाएको बताउँछन्।

इजरेलमा कति छन् नेपाली
प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए।

त्यस क्रममा उनले इजरेलमा रहेका नेपालीहरूको सङ्ख्या पनि सदनलाई जानकारी गराए।

उनका अनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया