Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावैशाखभित्र योजना सम्पन्न गर्ने कञ्चन गाउँपालिकाको लक्ष्य

वैशाखभित्र योजना सम्पन्न गर्ने कञ्चन गाउँपालिकाको लक्ष्य


बुटवल । कञ्चन गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षका सबै योजनाहरू वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी द्रूतरूपमा योजनाहरू कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमका अनुसार अपवादबाहेकका सबै योजनाहरूमा वैशाखभित्रै सक्ने लक्ष्य छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको सुरुमै कार्यतालिका बनाएर पूर्वयोजना अनुरूप योजनाबद्ध तरिकाले कार्य गरिरहेको गौतमले बताए । ‘भदौ मसान्तभित्र उपभोक्ता समितिहरू गठन भए । असोजमा उपभोक्तालगायतलाई विभिन्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । योजना सम्झौताका कार्यहरू मंसिरमा गरिसकिएको छ’, उनले भने, ‘सम्झौता भएका योजनाका कामहरू पुस सुरु भएसँगै सुरु भइसकेको छ ।’ चालू आर्थिक वर्षका लागि करिब तीन सयको हाराहारीमा योजनाहरू सम्झौता गरिएको उनले बताए । योजनाहरू सम्झौता प्रत्येक वडामा गएर गरेको उनले जानकारी दिए । यस्तै, गाउँपालिकाले एक लाख रुपैयाँसम्मका योजनाहरूका लागि वडाबाटै काम हुने गरी वडा सचिवलाई अधिकार प्रत्यायोजन गरेको छ । गाउँपालिका केवल भुक्तानीका लागि मात्र आए पुग्ने व्यवस्थाले मिलाएको उनले बताए । ठूला तथा गाउँपालिकाको गौरव बढ्ने खालका योजनाहरू खासै नभए पनि त्यस्ता दीर्घकालीन महत्व बोक्ने योजनाहरूका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढेको उनले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले गाउँपालिकामा भएका हरेक गतिविधिलाई सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत सावर्जनिक गर्ने गरेको पनि सुनाए । कार्यपालिकाका सबै निर्णयहरू, चौमासिक समीक्षा, नियमित सार्वजनिक सुनुवाई, हरेक महिना गाउँपालिकाको आम्दानी खर्च वेवसाइटमार्फत सार्वजनिक गरिने गरिएको छ । यस्तै, पालिकाले निःशुल्क स्वास्थ्य शिविर, मानसिक रोग निकारणसम्बन्धी सचेतना कार्यक्रम, कृषक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । सीमित स्रोत र साधनका बाबजुत पनि जनतालाई स्थानीय सरकारको अनुभूति हुने गरी काम गरिरहेको उनले बताए ।

गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले गाउँपालिकाको वित्तीय हिसाबले प्रगति कम भए पनि भौतिक प्रगति क्रमिकरूपमा बढ्दो क्रममा रहेको बताए । गाउँपालिकाले वडागतरूपमा बजेट विनियोजन गर्दा धेरै राजस्व संकलन गर्ने वडालाई नै धेरै बजेट दिने नयाँ प्रावधानको सुरुवात गरेको उनले जानकारी दिए । यसले वडाहरूले राजस्व संकलनमा विशेष जोड दिएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा पालिकाले एक करोड ७५ लाख रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । मंसिर मसान्तसम्मको राजस्व संकलनको अवस्थालाई हेर्दा लक्ष्य प्राप्तिमा सहजरूपमा पुग्न सकिने उनले बताए । मंसिर मसान्तसम्म एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको लेखा अधिकृत गैरेले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया