Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकञ्चनपुरमा निषेधाज्ञा, गड्डाचौकी नाका भने खुल्ला

कञ्चनपुरमा निषेधाज्ञा, गड्डाचौकी नाका भने खुल्ला


धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ १३
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार बिहानैदेखि अर्को आदेश नभएसम्म अत्यावश्यक औषधोपचारबाहेक अन्य कामका लागि सुरक्षाकर्मीको परामर्शविना घरबाहिर ननिस्कन कञ्चनपुरवासीलाई निर्देशन दिएको हो । साथै यसअघि बन्द रहेको गड्डाचौकी नाका भने खुल्ला गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट अवैधानिक बाटो भएर नेपाल भित्रिन खोज्ने नेपाली नागरिकहरूको संख्या दिनप्रतिदिन बढ्न थालेपछि पश्चिमी सीमा नाका गड्डाचौकी खुल्ला गरी वैधानिक बाटोबाट भित्र्याउन लागिएको बताइएको छ ।

कञ्चनपुर जिल्लाको सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई गड्डाचौकी नाकाबाट औपचारिक रूपमा नेपाल ल्याइने भएकोले नेपाल प्रवेश गर्न चाहने सबै नेपाली नागरिकहरूले अनुशासित, मर्यादित भएर आउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । गड्डाचौकी सीमा नाका भएर नेपाल आउने प्रत्येक व्यक्तिको विस्तृत विवरण संकलन गरिने भएकोले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्यरूपमा भर्नु पर्ने छ । सो फाराम भर्न छुटाएको खण्डमा जिल्ला प्रवेश गर्दा कठिनाइ हुने भएकोले आफू पनि सो फाराम भर्न र अरुलाई पनि भर्न लगाउन हुन प्रशासनले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले सोमबारबाटै लागू हुनेगरी अत्यावश्यक औषधोपचारबाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरू, बैंकलगायत सम्पूर्ण व्यापार, व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गराउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया