Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी जग्गा मिलेमतोमा व्यक्तिको बनाएको अभियोगमा चौधरी पक्राउ योजनाकार विनोद, पक्राउ परे अरुण

सरकारी जग्गा मिलेमतोमा व्यक्तिको बनाएको अभियोगमा चौधरी पक्राउ योजनाकार विनोद, पक्राउ परे अरुण


राजदरबार शक्तिशाली भएको बेला मिलेमतोमा तत्कालीन सरकारी स्वामित्वको कम्पनी बाँसाबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो परिवारको स्वामित्वमा ल्याउने विवादास्पद व्यापारी विनोद चौधरीलाई पक्राउ नगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनका भाइ अरुण चौधरीसहित तीन जनालाई बिहीबार पक्राउ गरेको छ । अरुण विनोदका कान्छा भाइ हुन् । अरुण सीजी होल्डिङ्सका अध्यक्ष तथ प्रबन्ध निर्देशक हुन् ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुँर्जी लिएर अरुणलाई उनकै घर लाजिम्पाटबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । ३७ वर्षअघि अर्थात् २०४३ साल भदौ १० गते विनोदले उक्त जग्गा हडपेका थिए । स्रोतका अनुसार उक्त जग्गा त्यतिबेला भाइको नाममा रहेको च्याम्पियन सुज प्रालि नामको फुटवेयर कम्पनीको नाममा पास गरिएको कारण अरुणलाई पक्राउ गरिएको हो ।

कारखानाको जग्गा फुटवेयर कम्पनीमा ल्याएपछि त्यसको केही महिनापछि उक्त कम्पनी बन्द गरिएको थियो । सो जग्गालाई विनोदकै योजनाअनुसार पछि सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा ल्याइएको थियो । उक्त चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष महोत्तरीका सञ्जय ठाकुर हुन् । अहिले अम्रपाली कन्स्ट्रक्सन सञ्चालन गरिरहेका ठाकुरलाई पनि सीआईबीले पक्राउ गरेको छ । उक्त जग्गा फुटवेयर कम्पनीबाट चाँदबागमा ल्याएको कारण अध्यक्षको हैसियतमा ठाकुर पक्राउ परेका हुन् ।अहिले सो जग्गामा चाँदबाग स्कुल छ । उक्त स्कुलको रेखदेख र आम्दानी अहिले विनोदको परिवारले बुझ्ने गरेको छ । तर, जग्गा लिँदा अरुणको नाममा रहेको कम्पनीको नाममा पास गरिएको कारण अहिले उनी पक्राउ परेको स्रोतको दाबी छ । विनोदले आफ्नो विभिन्न शिक्षण संस्था रहेको भनेर राखेको विवरणमा चाँदबाग स्कुलको पनि नाम छ । सोही आधारमा पनि उक्त स्कुलको सबै आम्दानी विनोद र उनको परिवारले लिनेगरेको देखिन्छ ।

डलर अर्बपति भनेर घोषित भए पनि विनोद नेपालमा बढी कर तिर्ने व्यापारिक प्रतिष्ठान वा व्यक्तिको सूचीमा छैनन् । त्यही भएर उनको व्यवसायको वैधताको बारेमा बेला–बेलामा प्रश्न उठ्ने गरेको छ । सोही कारण उनलाई विवादास्पद व्यापारी भन्ने गरिन्छ । सीआईबीको टोलीले पक्राउ गर्दासम्म अरुणले के विषयमा पक्राउ परिरहेको छु भन्ने सुइँको पाएका थिएनन् । पक्राउ गर्न गएको टोलीले सीआइबीको अफिसमा गएर मात्र थाहा हुने बताएका थिए । बिहानैदेखि अरुणको घर घेर्न पुगेको सीआईबीको टोली त्यतिबेला मात्र उनको घरमा प्रवेश गरेको थियो, जतिबेला अदालतबाट अर्को टोलीले पक्राउ पुर्जी ल्याएको थियो ।

अरुणलाई पक्राउ गर्नु केही समयअघि मात्र बिहीबार बिहान सीआईबीको टोलीले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजित नारायणसिंह थापालाई पक्राउ गरेको थियो । पक्राउ परेका चौधरी र थापालाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । उनीहरूले स्वास्थ्य समस्या देखाएपछि बिहीबार साँझ चिरायू अस्पताल लगिएको छ । दरबार, थापा र विनोदको मिलेमतोमा उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको थियो । चौधरी ग्रुपले राजधानी काठमाडौंलगायतका देशका अन्य भागमा पनि सरकारी जग्गा यसैगरी हडपिएको आशंकामा प्रहरीले अनुसन्धान र छानबिन गरिरहेको बताइएको छ । विनोद अहिले नेपाली कांग्रेसको तर्फबाट नवलपरासीबाट निर्वाचित सांसद हुन् । संविधानसभामा भने उनी नेकपा एमालेको कोटामा संविधानसभा सदस्य रहेका थिए ।

एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका विनोदले कांग्रेसलाई अहिले अर्थतन्त्र र पुँजीवाद पठाइरहेका छन् । उक्त सरकारी जग्गा हडपेर चौधरीले स्कुल सञ्चालन गरेको कारण छानबिनको माग गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षलगायतको टोलीले सीआईबीमा उजुरी दिएपछि यसको छानबिन सुरु भएको हो ।यसैबीच, नेपाल उद्योग परिसंघलगायत केही व्यवसायी संस्थाहरूले अरुणलाई पक्राउ गर्नुलाई निजी क्षेत्रमाथिको धरपकड भएको जिकिर गरेका छन् । परिसंघले बिहीबार नै राजधानीमा पत्रकार सम्मेलन गरेर उनलाई पक्राउ नगरी अनुसन्धान गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया