Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबनारसमा ज्ञानवापी मस्जिदको भूमिगत तल्लामा कसरी पाए हिन्दूहरूले पूजा गर्ने अधिकार

बनारसमा ज्ञानवापी मस्जिदको भूमिगत तल्लामा कसरी पाए हिन्दूहरूले पूजा गर्ने अधिकार


काठमाडौं,भारतको उत्तर प्रदेशस्थित वाराणसीमा अदालतको आदेशपछि काशी विश्वनाथ मन्दिरसँगै जोडिएको एउटा मस्जिदको भूमिगत तल्लामा हिन्दू विधिअनुसार पूजाआजा हुन थालेको छ।

वाराणसी जिल्ला अदालतले ज्ञानवापी मस्जिद परिसरभित्र सात दिनभित्र पूजा गर्ने चाँजोपाँजो मिलाउन जिल्ला प्रशासनलाई आदेश दिएको थियो।

आदेश आएको केही घण्टाभित्रै प्रशासनले बुधवार राति नै पूजा गर्ने प्रबन्ध मिलाएको थियो।
वकिल उमाशङ्कर जैनले उक्त निर्णयलाई यसअघि राम मन्दिरमा ताला खोल्न दिइएको आदेशसँग तुलना गर्दै मुद्दाको महत्त्वपूर्ण उपलब्धि मानेका छन्।

हिन्दू पक्षले केही समयदेखि ज्ञानवापी भवनको ‘व्यास’ तल्लामा पूजा गर्ने अधिकार माग गर्दै आएको थियो।
कसरी सुरु गराइयो पूजा
अदालतको आदेशानुसार उक्त स्थानमा फेला परेका मूर्तिको मात्र पूजा गराउनुपर्ने भएकाले प्रबन्ध मिलाउने काम चुनौतीपूर्ण थियो।

स्थानीय प्रशासनले सरकारी ढुकुटीमा राखिएका ती मूर्तिको पहिचान गरी उक्त स्थानमा लगेको थियो।

त्यस क्रममा काशी विश्वनाथ मन्दिर जाने बाटोलाई पूरै खाली गराइएको थियो। प्रायः उक्त क्षेत्रमा २०,००० जनाभन्दा बढी श्रद्धालु हुने भएकाले केही समय लागेको थियो।

वाराणसी जिल्लाका प्रशासक र प्रहरी प्रमुखले काशी विश्वनाथ मन्दिर प्रबन्धन समिति तथा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीहरूसँग परामर्श गरेर तारबार काट्ने र राति पूजा गराउने निर्णय गरेको बीबीसी हिन्दीले जनाएको छ।
प्रशासनका अनुसार पूजा गर्ने ठाउँसम्म जान फलामको छेकबार हटाएर फलामको ढोका अनि भूमिगत तल्लामा बत्ती हालिएको थियो। लामो समयदेखि रोकिएको पूजा फेरि थाल्न के गर्नुपर्छ भनेर केही विज्ञसँग परामर्श पनि गरिएको जनाइएको छ।

प्रशासनका अनुसार काशी मन्दिरका पुजारी ओमप्रकाश मिश्रले त्यहाँ पूजा गराएका हुन्।

यी सबै गतिविधि हुँदा त्यहाँ यो मुद्दा दायर गर्ने पक्षका कोही व्यक्ति पनि त्यहाँ उपस्थिति थिएनन्।

पूजा गरिएका मूर्तिमा विभिन्न देवताका प्रतिमा छन्। तिनमा एउटा शिवलिङ्ग, दुइटा हनुमान्‌का मूर्ति अनि विष्णु र गणेशका एकएकवटा प्रतिमा, राम लेखिएको एउटा शिला र गङ्गामाताको एउटा मकर छन्।

प्रशासनका अनुसार ती सबै मूर्ति खण्डित छन् अर्थात् सग्ला छैनन्।

मूर्तिहरू राखिएको स्थानमा अहिले केवल एक पुजारीलाई जाने अनुमति दिइएको छ।
सन् १९९३ सम्म पूजापाठ हुने गरेको दाबी
आफ्नो निवेदनमा हिन्दू पक्षले “परिसरको दक्षिणी भागमा रहेको भूमिगत तल्लामा मूर्तिपूजा हुने गरेको र सन् १९९३ को डिसेम्बरपछि पुजारीलाई ज्ञानवापीको तारबार लगाइएको क्षेत्रमा प्रवेश गर्न रोक लगाइएसँगै सबै संस्कार पनि बन्द भएको” दाबी गरेको छ।

राज्य सरकार र जिल्ला प्रशासनले बिनाकारण भूमिगत तल्लामा पूजा गर्न प्रतिबन्ध लगाएको हिन्दू पक्षको दाबी छ।

हिन्दू पक्षले ब्रिटिश उपनिवेशकालमा पनि आफूहरूले त्यहाँ पूजा गर्दै आएको दाबी गरेको छ।

निवेदकहरूले भूमिगत तल्लामा विभिन्न देवीदेवताका मूर्तिसहित धार्मिक महत्त्वका अन्य सामग्री सुरक्षित रहेको दाबी गरेका छन्।

हिन्दू पक्षले भूमिगत तल्लामा रहेका मूर्तिहरूको नियमित पूजा गर्न पाउनुपर्ने माग गरेका थिए।
आफ्नो मुद्दामा हिन्दू पक्षले भूमिगत तल्लामा पूजा गर्ने व्यवस्थाका लागि एक सहजकर्ता नियुक्त गर्न माग गरेको थियो।

वाराणसी जिल्ला न्यायाधीश अजय कृष्ण विश्वेशले हिन्दू पक्षको मागलाई स्वीकार गर्दै वाराणसी जिल्लाका प्रशासकलाई ज्ञानवापी मस्जिदको उक्त विवादित सम्पदास्थलमा हिन्दूहरूले पूजा गर्ने प्रबन्ध मिलाउन सहजकर्ता नियुक्त गरेका थिए।

ज्ञानवापीमा भूमिगत व्यास तल्ला कहाँ छ
अहिले व्यास नामले चिनिने भूमिगत तल्ला मस्जिद परिसरभित्र कहाँ छ त?

ज्ञानवापीसँग सम्बन्धित दीन मोहम्मदको मुद्दामा सन् १९३६ मा अदालतमा पेस गरिएको नक्सामा दक्षिणतर्फ अङ्ग्रेजीमा ‘व्यासको स्वामित्वमा रहेको तहखाना’ लेखिएको छ।

सोमनाथ व्यासले ज्ञानवापीको स्वामित्व दाबी गर्दै सन् १९९१ मा दर्ता गराएको नक्सामा पनि दक्षिणमा “वादी नं. २ को स्वामित्वमा रहेको भूमिगत तल्ला” लेखिएको देखिन्छ।

सोमनाथ व्यासले आफ्नो निवेदनसँगै पेस गरेको नक्सामा यो भूमिगत तल्लाको ठिक अगाडि नन्दी र यसको दाहिनेपट्टि गौरीशङ्कर देखाइएको छ। बायाँपट्टि मण्डप छ, त्यसको परिसरमा सिंहासन, इनार, पीपलको रूख र गणेशको मूर्ति अनि महाकालेश्वरको मूर्ति मण्डपसँग जोडिएको देखाइएको छ।

ज्ञानवापी परिसरसँग जोडिएका सबै ठाउँ हिन्दूहरूको स्वामित्व भएको नक्साले देखाएको छ।

दीन मोहम्मदको मुद्दामा संलग्न नक्सामा व्यासले प्रयोग गर्ने भनिएको भूमिगत तल्लाअगाडि नन्दी र छेउमा गौरीशङ्कर देखाइएको छ। देब्रेपट्टि मण्डप, इनार र कुवासँगै पीपलको रूख पनि छ।

सोमनाथ व्यासको विवेदनमा भूमिगत तल्लाको विवरण
सन् १९९१ मा पण्डित सोमनाथ व्यासले ज्ञानवापीको जग्गामा आफ्नो स्वामित्व दाबी गर्दै पहिलो मुद्दा दायर गरेका थिए।

त्यतिबेला सोमनाथ व्यास ६१ वर्षका थिए। उनले आफू ज्ञानवापी परिसरमा अवस्थित गद्दीको पण्डित भएको दाबी गरेका थिए। उनले आफू भगवान् विश्वेश्वरको साथी भएको जिकिर गर्दै ज्ञानवापीको जग्गाको विषयमा मुद्दा हालेका थिए।

उनले भत्काइएको विश्वेश्वर मन्दिरको केही भाग अहिले पनि कित्ता नम्बर ९१३० मा बाँकी रहेको दाबी गरेका थिए।

सोमनाथ व्यासले आफ्नो निवेदनमा “दक्षिणमा रहेको भूमिगत तल्ला अनि पूर्वमा मन्दिर तथा त्यसले चर्चेको जमिन सन् १९९१ सम्म आफ्नो भोगचलनमा रहेको” दाबी गरेका थिए।

हिन्दूहरूले त्यहाँ आदिविश्वेश्वरको मन्दिर रहेको मानेर पूजा गर्ने र परिक्रमा गर्ने गरेको पनि उनको दाबी थियो।
सोमनाथ व्यासले भूमिगत तल्ला आफ्नो भोगचलनमा रहेकाले कित्ता नम्बर ९,१३० मा रहेको ज्ञानवापी परिसर पूरै आफ्नो हुनुपर्ने दाबी गरेका थिए।

उनले भूमिगत तल्लाको जग्गा आफ्नो स्वामित्वमा रहेकोले त्यसमाथि बनेको मस्जिदको संरचना पनि हिन्दूहरूको हुने तर्क गरेका थिए।

पण्डित सोमनाथ व्यासको मार्च २००० मा मृत्यु भयो।

त्यसपछि अरू व्यक्तिले उक्त मुद्दा लडेका थिए।

मुस्लिम पक्षको दाबी के छ
हिन्दू पक्षले पूजा गर्ने अधिकार मागेको भूमिगत तल्लामा व्यास परिवारका कसैले पनि पूजा नगरेको मुस्लिम पक्षको भनाइ छ।

त्यसैले सन् १९९३ को डिसेम्बरदेखि भूमिगत तल्लामा पूजा रोकिएको भन्ने कुरा सही नभएको मुस्लिम पक्षको दाबी छ।

मस्जिद पक्षका अनुसार भूमिगत तल्लामा कुनै मूर्ति पनि थिएन।

ब्रिटिश शासनकालमा व्यास परिवारले भूमिगत तल्लामा पूजा गर्ने हिन्दूहरूको दाबीलाई मस्जिद पक्षले अस्वीकार गरेको छ।

व्यास परिवार वा कुनै पनि भक्तजनले भूमिगत तल्लामा कहिल्यै पूजा नगरेको र सुरुदेखि नै मस्जिद आफ्नो भोगचलनमा रहेको मुस्लिम पक्षको दाबी छ।
मस्जिद पक्षले कित्ता नम्बर ९,१३० मा ‘ज्ञानवापी मस्जिद हजारौँ वर्षदेखि रहेको र त्यसको भूमिगत तल्ला पनि मस्जिदकै रहेको’ दाबी गरेको छ।

आफ्नो तर्कमा मस्जिद पक्षले सन् १९३७ को दीन मोहम्मदको फैसलालाई देखाएको छ।

उक्त फैसलामा मस्जिद, त्यसको आँगन र त्यसको छेउछाउको जग्गा हनिफा मुस्लिम वक्फको रहेको र त्यहाँ मुस्लिमलाई त्यहाँ प्रार्थना गर्ने अधिकार रहेको उल्लेख छ।

भूमिगत तल्लाबारे पुरातत्त्व विभाग के भन्छ
व्यासको भनिएको भूमिगत तल्ला भारतको पुरातात्त्वविक सर्वेक्षण निकाय (एएसआई) को जाँचको दायरामा परेको थिएन। तर एएसआईले ज्ञानवापी परिसरस्थित अन्य भूमिगत तल्लाको सर्वेक्षण गरेर आफ्नो निष्कर्ष दिएको थियो।

एएसआईका अनुसार मस्जिदमा प्रार्थनाक लागि पूर्वी भागमा भूमिगत तल्ला बनाइएको थियो र बढीभन्दा बढी मानिसले नमाज पढ्न सकून् भनेर मञ्च र अरू ठाउँ पनि बनाइएको थियो।

पूर्वी भागमा भूमिगत तल्ला बनाउन मन्दिरका स्तम्भहरू प्रयोग गरिएको एएसआईको प्रतिवेदनमा उल्लेख छ।

एनटू नाम दिइएको एउटा भूमिगत तल्लामा प्रयोग गरिएको स्तम्भमा घण्टी र दियो राख्ने ठाउँ र शिलालेखहरू पनि भएको प्रतिवेदनमा छ।

त्यस्तै एसटू नाम दिइएको भूमिगत तल्लामा माटोमुनि हिन्दू देवीदेवताका मूर्ति फेला परेको अध्ययनको विवरणमा उल्लेख छ।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया