Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनीमा चीनको स्वार्थ कति सांस्कृतिक कति सामरिक

लुम्बिनीमा चीनको स्वार्थ कति सांस्कृतिक कति सामरिक


काठमाडौं,लुम्बिनीमा शुक्रवारबाट सुरु भएको लुम्बिनी शान्ति महोत्सवले बुद्ध जन्मस्थलमा बेइजिङको रणनीतिक चासोलाई प्रकट गराएको परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्।

अघिल्लो महिना नेपालमा सत्ता समीकरणमा देखिएको फेरबदलसँगै नोबेल पुरस्कार विजेताहरूको सहभागितामा आयोजना हुने भनिएको एउटा सम्मेलन स्थगित गरेको नेपालले अहिले काठमाण्डूस्थित चिनियाँ राजदूतावाससँग मिलेर उक्त महोत्सव आयोजना गरेको हो।

दुई दिने महोत्सवमा ध्यान शिविर, पिस कन्सर्ट, पिस म्याराथनजस्ता कार्यक्रम समावेश गरिएका छन् जुन हालैका वर्षमा बेइजिङले नेपालमा अघि बढाएका अन्य सांस्कृतिक एवं जनस्तरका कूटनीतिक गतिविधिसँग मेल खान्छन्।

तर परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले बुद्ध धर्मको एउटा प्रभावशाली सांस्कृतिक शक्तिका रूपमा विश्वसामु चीनले आफूलाई उभ्याउन चाहेको र उसले लुम्बिनीमा व्यक्त गरिरहेका चासोको गहिरो अर्थ रहेको टिप्पणी गरेका छन्।लुम्बिनी शान्ति महोत्सव के हो?

नेपाल पर्यटन बोर्ड, काठमाण्डूस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलिम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् आयोजक रहेको उक्त महोत्सवको उद्देश्य लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु रहेको अधिकारीहरूले बताएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै नेपाल पर्यटन बोर्डले उक्त महोत्सव अन्तर्गत ध्यान, कन्सर्ट र म्याराथन आयोजना हुने भन्दै त्यसले नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध र सद्भावलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको जनाएको थियो।

दुई दिने सो कार्यक्रम यूनेस्कोको विश्व सम्पदा सूचीमा रहको लुम्बिनी परिसरमा आयोजना भएको हो। शुक्रवार सम्पन्न ध्यान शिविरमा भिक्षु र बौद्धमार्गीसहित ८०० जना सहभागी भएको आयोजकहरूले जनाएका छन्।दोस्रो दिन लुम्बिनी इन्टरन्याश्नल पीस म्याराथन र लुम्बिनी पिस कन्सर्टको आयोजना गरिने भनिएको छ। नेपालकी आनी छोइङ डोल्मा र चर्चित चिनियाँ गायिका वुलान टुया र कलाकार लु निङले परम्परागत चिनियाँ बाजा गुचीनसहित प्रस्तुति दिनेछिन्।

उक्त कार्यक्रमलाई विश्वभर प्रवर्द्धन गर्ने बताउँदै आयोजकहरूले त्यसले लुम्बिनीको शान्ति र सांस्कृतिक महत्त्वलाई उजागर गरिने आयोजकहरूको भनाइ छ।पहिलो दिनको एउटा कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यो महोत्सव चीन र नेपालबीच सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अभिवृद्धि गर्ने नयाँ सुरुवात हुनसक्ने बताए।

उनले हालै भएको आफ्नो चीन भ्रमणका क्रममा सम्पर्क सञ्जाल र जन स्तरीय आदानप्रदानबारे चिनियाँ नेतृत्वसँग महत्त्वपूर्ण छलफल भएको बताए।

काठमाण्डूस्थित चिनियाँ राजदूत छन सङले चीनमा संसारकै सबैभन्दा धेरै बुद्धमार्गीहरू रहेको भन्दै बुद्ध धर्मले दुई देशका मानिसहरूलाई साझा विश्वास, मान्यता र आपसी ज्ञान र आदानप्रदानका माध्यमबाट नजिक ल्याएको बताएका थिए।

अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले राखेको प्रस्तावमा समर्थन रहेको भन्दै उनले थपे, “हामी लुम्बिनीलाई नेपालको ध्यानको राजधानी बनाउने प्रस्ताव राख्ने इच्छा व्यक्त गर्छौ।”

चिनियाँ राजदूतले आफ्नो मुलुकले बौद्ध धर्मावलम्बीहरूको भ्रमणको आदानप्रदानका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै त्यसले चीन नेपाल मित्रतालाई अझ मजबुत बनाउने पनि टिप्पणी गरेका थिए।कार्यक्रमको साङ्केतिक अर्थ

लुम्बिनीमा आयोजना भइरहेको चिनियाँ महोत्सवलाई पछ्याइरहेका कतिपय विज्ञहरूले यो कार्यक्रमलाई अघिल्लो महिना रद्द गरिएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनसँग जोडेर हेरिरहेका छन्।

कतिपय नोबेल पुरस्कार विजेतासहित केही पश्चिमा देशका पूर्व उच्च अधिकारी र अधिकारवादीको सहभागितामा गएको मार्च ११ र १२ गते लुम्बिनीमा तय भएको लाउरेट्स एन्ड लिडर्स फर चिल्ड्रन अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको थियो।

लुम्बिनी प्रदेश सरकारको निम्तोमा आफूहरूले उक्त सम्मेलन गर्न लागेको र त्यसलाई नेपालको सङ्घीय सरकारको पनि समर्थन रहेको तर नेपालमा सत्ता समीकरण फेरबदल भएपछि उत्पन्न ‘राजनीतिक सङ्कट’ का कारण कार्यक्रम स्थगित भएको आयोजकहरूले जनाएका थिए।

कतिपयले तिब्बती धार्मिक नेता दलाई लामालाई पनि सो सम्मेलनमा निम्तो दिइएको र त्यसका कारण सम्मेलन स्थगित भएको टिप्पणी गर्ने गरेका छन्।

तर सम्मेलन नयाँ दिल्लीमा सार्ने निर्णय जानकारी गराउने क्रममा उक्त संस्थाले दलाई लामालाई कहिल्यै निम्तो नदिइएको प्रस्ट पारेको थियो।लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्य सो सम्मेलन स्थगित हुनुको कारण आफूहरूलाई थाहा नभए पनि सम्मेलन नेपालमा आयोजना हुनसकेको भए त्यसले लुम्बिनीको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने टिप्पणी गर्छन्।

उनी भन्छन्, “अझै पनि बुद्ध भारतमै जन्मिएका हुन् भन्ने विश्वासमा बस्नेहरू धेरै छन्। कतिले लुम्बिनी चिनेका छैनन्। त्यसलाई चिर्दै जानुपर्ने आवश्यकता छ। यस्ता कार्यक्रमहरू गरेर लुम्बिनीलाई चिनाउनुपर्ने आवश्यकता छ।”

उनले चीनले हाल लुम्बिनीमा प्रकट गरिरहेको चासोले लुम्बिनीको प्रवर्द्धन र यो क्षेत्रमा विस्तारमा टेवा पुर्‍याउनसक्ने भन्दै यसबाट लाभ लिने रणनीति नेपाल सरकारले तय गर्नुपर्ने बताए।

नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीसमेतको अगुवाइमा आयोजना गर्ने भनिएको सम्मेलन यसअघि प्रदेश सरकारले स्थगित गरेको थियो।लुम्बिनीमा चीन के चाहन्छ? कतिपयले यो कार्यक्रम आयोजना भइरहेको समयलाई पनि अर्थपूर्ण मानेका छन्। नयाँ सत्ता समीकरणमा फेरबदल भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले बेइजिङलाई विदेश भ्रमणको आफ्नो पहिलो गन्तव्य बनाएका थिए।

अघिल्लो महिना आयोजित बोआओ फोरम फर एशिया अन्तर्गत धार्मिक सहिष्णुता तथा सभ्यताहरूबीच आपसी सिकाइ सम्बन्धी सत्रको एउटा वक्ताका रूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हार्क्याल लामा उपस्थित थिए।

उनले बौद्ध धर्मको आदानप्रदान सम्बन्धी सेतुको रूपमा नेपाल र चीनले काम गर्ने विश्वास गरेका थिए।लुम्बिनीमा चीनको रुचि नयाँ नभएको जानकारहरू बताउँछन्।

नेपाल चीन सम्बन्धबारेको पुस्तक ‘अल रोड्स लिड नर्थ’का लेखक अमिशराज मुल्मी भन्छन्, “लुम्बिनीमा चीनको चासो नयाँ होइन। पहिला पनि प्रचण्डले एपीइसी नामक संस्थालाई ल्याउन खोजेका थिए। त्यसबेला पनि भूराजनीतिक सवालहरू थिए। भारतले आफ्नो असहमति प्रस्ट राखेको हो। त्यति बेला त्यो रोकियो। चीनले नेपालमा आफ्नो सांस्कृतिक र जनस्तरको कूटनीतिक विस्तार गरेको छ। उसले आफूलाई सहज पनि महसुस गर्छ।”

सन् २०११ मा लुम्बिनी क्षेत्रको विकासका लागि आफू सह-अध्यक्ष रहेको भनिएको संस्थामार्फत ३ अर्ब डलर लगानी भित्र्याउने पहल गरेको प्रचण्डले बताइरहँदा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सत्ताको नेतृत्व गरिरहेका थिए।भारतको सीमावर्ती क्षेत्रबाट करिब १० किलोमिटर दुरीमा अवस्थित लुम्बिनीमा चिनियाँ पक्षबाट हालैका वर्षहरूमा व्यक्त चासोलाई नयाँ दिल्लीका नीति निर्माताहरूले नजिकबाट नियाल्ने गरेको पाइन्छ।

नयाँ दिल्लीस्थित मनोहर पर्रिकर अध्ययन एवं विश्लेषण संस्थानका रिचर्स फेलो डाक्टर निहार नायक नेपालमा वामपन्थी दलहरूको गठबन्धनले सत्ताको नेतृत्व गरेको समयमा चीनले लुम्बिनीमा आफ्नो प्रभाव कायम गर्ने प्रयास अघि बढाएको बताउँछन्।

उनले बीबीसीसँग भने, “मलाई लाग्छ, उनीहरूको चासो कम सांस्कृतिक र कम धार्मिक हो। बरु यो रणनीतिक स्वार्थ हो। लुम्बिनीमा संलग्न भएर उनीहरू आफ्नो क्षेत्रीय असुरक्षालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन्।”

लुम्बिनीमाथिको चिनियाँ चासो तिब्बत र धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाप्रति लक्षित रहेको उनी ठान्छन्।

उनले भने, “बुद्ध धर्मको चर्चा गर्ने हो भने परम्परागत रूपमा चीन प्रमुख खेलाडी होइन। बुद्ध नेपालमा जन्मिए र उनले ज्ञान भारतमा प्राप्त गरे र जीवनको अन्तिम क्षण भारतमै बिताए। उनको जन्मभूमि नेपाल र कर्मभूमी भारत थियो। बिश्व भर बुद्ध धर्मलाई लिएर पनि चीनले आफ्नो पकड कायम गर्न खोजिरहेको छ त्यही भएर उसले लुम्बिनीमाथि आफ्नो नियन्त्रण बढाउन चाहन्छ। त्यसो गरेर उनीहरू बौद्ध धर्म आफ्नो प्रभावमा रहेको विश्वलाई देखाउन चाहन्छन्।”लुम्बिनीलाई जोडेर भारतले बुद्ध सर्किट विकास गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै नायकले आफ्नो सीमा नजिकै आएर चीनले गतिविधि गर्दा दिल्लीले असहज ठानेको हुनसक्ने बताए।

अहिले भइरहेका कार्यक्रमलाई समेत भारतले नजिकबाट नियालेको ठान्ने उनी भन्छन्, “चीनका लागि लुम्बिनी रणनीतिक मुद्दा हो। भारतका लागि यो सांस्कृतिक मुद्दा हो। बुद्धले धेरै समय भारतमा बिताएकाले धेरैका लागि यो भावनात्मक विषय पनि हो।”

नेपालको दक्षिण भेगमा चिनियाँ गतिविधिलाई कति ठाउँ दिने त्यो नेपालमा निर्भर हुने भन्दै उनले थपे, “यदि चीनले सांस्कृतिक विषय भन्दा यसलाई धेरै भन्दा धेरै सुरक्षा वा रणनीतिक सवाल बनायो र लुम्बिनीमा आफ्नो उपस्थिति बढायो भने भारतका लागि पनि लुम्बिनी रणनीतिक मुद्दा बन्न सक्छ।”

लेखक मुल्मीले चीनले विश्वकै ठूलो बौद्ध धर्मावलम्बी भएको देशका रूपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै लुम्बिनीमा उसको बढ्दो चासो त्यसैको प्रतिविम्ब रहेको ठान्छन्।

उनले भने, “चीन वा सी जिनपिङले अनुमोदन गरेको जुन बुद्ध धर्म छ त्यसलाई केन्द्रमा राखेर उसले आफूलाई नेतृत्वका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।”
नेपालले लिनुपर्ने बाटो के हो?सन् २०१० देखि सन् २०१४ सम्म लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति रहेका त्रिरत्न मानन्धर लुम्बिनी क्षेत्रको विकासमा सहयोग गर्ने चिनियाँ इच्छा नयाँ नभएको बताउँछन्।

उनले आफू उपकुलपति भएका समयमा चिनियाँ पक्षले शैक्षिक क्षेत्रमा सहकार्य गर्ने र एउटा ध्यान केन्द्रको स्थापना गर्ने कुरा अघि बढाएको बताए।

उनले भने, “मैले जुन वाङसु टेम्पलसँग समझदारी गरेको थिएँ त्यसका मुख्य धर्मगुरु बुद्धिस्ट एसोसिएसन अफ चाइनाका मुख्य व्यक्ति थिए। उनीहरू बुद्धको जन्मस्थलमा राम्रोसँग मानवीय कार्यहरू होस् भन्ने चाहन्थे। मलाई लाग्छ कम्युनिस्ट देश भएपनि उनीहरूले लुम्बिनीबारे कुनै स्वार्थ राखेका छैनन्। उनीहरूको केही स्वार्थ नै भइहाल्यो भने पनि नेपालले आफ्नो स्वार्थ अनुसार गर्नुपर्ने छँदैछ।”

सन् २०२२ को मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थलको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका थिए।

त्यसबेला भारतको संविधान लेखनमा अग्रणी भूमिका निभाएका दिवङ्गत नेता बीआर अम्बेडकरको सम्मानमा उनकै नाममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा इन्डिया चेअर स्थापना गरिएको थियो।मोदीको भ्रमणका क्रममा इन्डिया इन्टरन्याश्नल सेन्टर फर बुद्धिष्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गरिएको थियो।

हाल लुम्बिनीस्थित स्तूप क्षेत्रमा चीनको एउटा विहार छ भने त्यहाँ अर्को एउटा विहारका लागि पनि चीनलाई जग्गा छुट्याइएको बताइन्छ।

सन् १८९३ मा श्रीलङ्कालीहरूको अगुवाइमा लुम्बिनीमा स्थापना गरिएको महाबोधि समाजमा भारत जोडिएको देखिन्छ।

भारतको कोलकाताबाट सञ्चालन हुँदै आएकाले महाबोधि समाजलाई कोलकाता मन्दिर भन्ने गरिएको बताइन्छ।

तौलिहवा जाने बाटोमा भारत सरकारले एउटा सङ्ग्रहालय उपहारस्वरूप बनाइदिएको थियो।

लुम्बिनी बौद्ध विश्वविद्यालयले हिमालय क्षेत्रको बौद्ध धर्म अर्थात् ‘भोट बुद्धिजम’ सम्बन्धी अध्यापन गराइरहेको छ।

चीनसँगको सहकार्यमा एउटा ‘स्प्रिचुअल हस्पिटल निर्माणका लागि सोच बनाइएको’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्य बताउँछन्।

बौद्ध धर्मका अनुयायीहरूको सङ्ख्या ठूलो रहेका देशका नागरिकहरूको चासो लुम्बिनीमा सदैव रहेका जानकारहरू बताउँछन्।अघिल्लो तीन वर्षको आँकडा हेर्ने हो भने १,१२,००० विदेशी राहदानीवाहकले लुम्बिनी क्षेत्रको भ्रमण गर्दा त्यो भन्दा झन्डै पाँच गुणा अर्थात् ५ लाख ४० हजार भारतीय बुद्ध जन्मस्थलमा पुगेको लुम्बिनी विकास कोषको एउटा तथ्याङ्कले देखाउँछ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्य करोडौँको सङ्ख्यामा बौद्धमार्गीहरू चीनमा रहेको भन्दै लुम्बिनीबारे उनीहरूको चासो हुनु स्वाभाविक भएको ठान्छन्।

उनले भने, “पर्यटनकै विकासका लागि पनि उहाँहरू अनि सबैको चासो लुम्बिनीमा बढ्नुपर्छ।”

मानन्धर जस्ता कैयौँ विज्ञहरूले लुम्बिनी विकासको एजेन्डा अघि बढाउँदा दुवै छिमेकी राष्ट्रसँग नेपालले राम्रो सम्बन्ध राख्नुपर्ने तर ती देशका नभई आफ्ना स्वार्थ हेरेर निर्णय लिनुपर्ने बताउने गरेको पाइन्छ।

लुम्बिनी नजिकै भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत खासै अन्तर्राष्ट्रिय उडानहरू हुन सकेका छैनन्।

भारतबाट कुनै पनि उडान नभएको उक्त विमानस्थलमा सन् २०२४ मा एउटा चिनियाँ चार्टर विमान लुम्बिनी आएको अधिकारीहरू बताउँछन्।

नेपाली पक्षले भैरहवा र चिनियाँ सहरहरूबीच सोझै हवाई सेवा विस्तार गर्ने प्रयास गरिरहेको बताउने गरेको पाइन्छ।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया