Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप ३ सय ८० जनामा कोरोना, काठमाडौंमा ९२ जना संक्रमित थपिए

थप ३ सय ८० जनामा कोरोना, काठमाडौंमा ९२ जना संक्रमित थपिए


काठमाडौं, साउन २६
नेपालमा थप तीन सय ८० जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नौ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नयाँ तथ्यांकअनुसार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । आइतबारसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ३ सय ५३ रहेको छ । मुलुकभर क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८ सय ४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मधुमेहको समस्या थियो । उनी कोरोना भगाउने भन्दै धार्मिक कार्य गर्दै आएका थिए । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार मुलुकभर छ हजार ५ सय ४४ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश नं १ मा पाँच सय ११, प्रदेश नं २ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार एक सय ३२, गण्डकी प्रदेशमा दुई सय ३७, प्रदेश नं ५ मा चार सय ४६, कर्णाली प्रदेशमा एक सय ६९ र सुदूरपश्चिम प्रदेशमा नौ सय ७४ छन् ।

पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार पाँच सय ७४ जना कोरोनाका सङ्क्रमित भएका छन् । हालसम्म सात लाख २९ हजार सात सय ४८ जनाको मृत्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार तीन सय ८४ जना निको भइसकेका छन् । नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ७५ रहेको छ । सङ्क्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ छन् ।

त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा छन् । नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ६२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ । काठमाडौँका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् ।

परिषद्का सदस्यसचिव प्राडा प्रदीप ज्ञवालीले काठमाडौँका २३ सार्वजनिकस्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाएको पाइएको जानकारी दिए । अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी चार हजार पाँच सय दुई जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको सङ्ख्या ७२ दशमलव एक र मास्क नलगाउनेको सङ्ख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिकस्थलमा जम्मा दुई हजार सात सय तीन जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ ।

मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत छन्  काठमाडौँ उपत्यकाका २३ सार्वजनिक स्थलहरु तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो । परिषद्ले साउन ८ गते छ जनाको विज्ञ समूह गठन गरी तथ्य सङ्कलनका लागि ३९ जना अनुसन्धान टोली खटाइएको थियो । अध्ययन प्रतिवेदन आइतबार नै स्वास्थ्य मन्त्रालयमा बुझाइएको डा ज्ञवालीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया