Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानी गर्ने ठाउँको अभाबमा बैंकमा पैसा थुप्रियो

लगानी गर्ने ठाउँको अभाबमा बैंकमा पैसा थुप्रियो


काठमाडौं, भदौ १४
कोरोना भाइरस कोभिड–१९ को कारण लगानीका क्षेत्र खुम्चिँदा बैंकिङ क्षेत्रको निक्षेपमा १८ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । २०७७ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१ दशमलव नौ प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः नौ दशमलव सात प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४६ दशमलव तीन प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव तीन प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलव चार प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको आठ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६ दशमलव दुुई प्रतिशतले घटेको छ । समीक्षा वर्षमा छवटा विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव सात प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव चार प्रतिशत र १३ दशमलव पाँच प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६ दशमलव सात प्रतिशतले घटेको छ । यसैगरी औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव पाँच प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२ दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा सात दशमलव सात प्रतिशतले रसेवा उद्योग क्षेत्रतर्फको कर्जा २२ दशमलव एक प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७ दशमलव सात प्रतिशतले, ओभर ड्राफ्ट कर्जा सात दशमलव दुुई प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा आठ दशमलव सात प्रतिशतले घटेको छ । यसैगरी डिमान्ड तथा चालू पुँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत आठ दशमलव एक प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा तीन दशमलव आठ प्रतिशतले घटेको छ ।

आगामी सोमबार तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी : नेपाल राष्ट्र बैंकले आगाामी सोमबार तीन अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भदौ १७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०७७ मंसिर १६ गते तोकिएको छ । यसअघि यही भदौ ८ गते पनि राष्ट्र बैंकले चार अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको दुुई अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x