Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतमा सोयाबिन तेलको माग उच्च

भारतमा सोयाबिन तेलको माग उच्च


विराटनगर, भदौ १७
सुनसरी मोरङ औद्योगिक करिडोरबाट विराटनगर भन्सार नाका भएर भारतमा निर्यात हुँदै आएको वस्तुमध्ये अग्रस्थान ओगटेको प्रशोधित पाम तेलको निर्यात भारत सरकारले वैशाख महिनादेखि रोकेपछि अहिले त्यसको स्थान सोयाबिन तेलले लिन थालेको छ । विराटनगर भन्सार कार्यालका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा मात्र सुनसरी मोरङ औद्योगिक करिडोरका सोयाबिन तेल उद्योगहरूले ४७ लाख ७० हजार १ सय ८७ केजी सोयाबिन तेल भारत निकासी गरेका छन् ।

उक्त सोयाबिन तेलको ६५ करोड ८३ लाख ५० हजार ३ सय रूपैयाँ मूल्य निर्धारण भएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालभर २ अर्ब २७ करोड रूपैयाँको सोयाबिन प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । चालू आवको पहिलो महिना साउनमा भारततर्फ सोयाबिन तेलको निर्यात गत वर्षको सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढीले वृद्वि भएको भन्सार अधिकारीहरूको भनाइ छ ।

वैशाखको अन्तिम सातादेखि भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात अहिले ठप्प छ । पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगीहरू नै सोयबिन तेल भारत निकासीमा सक्रिय रहेका छन् ।

पछिल्लो समय विवादास्पद छवि बनाएका श्रीराम रिफाइनरीका सञ्चालक प्रदिप मुरारका पनि पाम आयलको निर्यात बन्द भएपछि सोयाबिन तेलको उत्पादनमा लागेका छन् । कुल उत्पादनको आधाभन्दा बढी सोयाबिन तेल उनकै उद्योगबाट उत्पादन हुँदै आएको छ । पाम आयलको निर्यात भारतले बन्द गर्दा ठूलो परिमाणमा पाम तेलको स्टोक गरेका मुरारकाले करिब २ सय ४० टनभन्दा बढीको पाम आयलको व्यवस्थापन कसरी गरेर भन्ने प्रश्न उठ्न समेत थालेको छ ।

भारत सरकारले सोयाबिन तेलको निर्यात खोलेपछि उद्योगी मुरारकाले सोही रिफाइनरी उद्योगबाटै त्यसको विकल्पका रूपमा सोयाबिन तेलको उत्पादन सुरू गरेका हुन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा कोरोना संक्रमणका कारण पहिलेजति उद्योग सञ्चालनमा छैनन् । तर पनि सञ्चालित उद्योगमा पनि सोयाबिन तेलको उत्पादन एक्कासी बढेर गएको छ । उद्योगीहरूका अनुसार भारतमा सोयाबिन तेलको माग बढिरहेकाले पाम तेलको विकल्पका रूपमा व्यवसायीहरूले सोयबिन तेलको उत्पादन बढाउन थालेका हुन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले मुख्यरूपमा कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पारागुवे, इन्डोनेसिया तथा युक्रेनबाट आयात गर्नेगरेको बताइएको छ । सबैभन्दा बढी कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको साउनमा २ अर्ब ५६ करोड रूपैयाँबराबरको कच्चा सोयाबिन नेपाल आयात भइसकेको छ । कहिले पीसीआर मसिन खरिद विवाद त कहिले पाम तेल निर्यातमा विवादित बन्दै गएका उद्योगी मुरारका पछिल्लो समय फेरि सोयाबिन तेल भारत निकासीमा विवादित बन्न पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x