Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजेशबाबु श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसार काठमाडौं महानगरपालिका ३ बस्ने गोरखा, गोरखा नगरपालिका ६ घर भएका ५२ वर्षीय श्रेष्ठलाई आइतबार पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार दिपा थपलियाको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी राजेशबाबुु श्रेष्ठ भएको बैंकिङ कसुरसम्बन्धी मुुद्दामा उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले श्रेष्ठउपर १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । सोपश्चात् फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रवक्ता पाण्डेले भने ।

प्रवक्ता पाण्डेका अनुसार श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी दिपा थपलियालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको सीआईबीका प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।

यसैगरी सीआईबीले जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका १३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार नै पक्राउ गरेको जानकारी दिएको छ । सीआईबीबाट खटिएको प्रहरीले राणालाई काठमाडौं महानगरपालिका ७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।

प्रवक्ता पाण्डेका अनुसार राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई पर्सा वीरगञ्ज महानगरपालिका ५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धूर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराई लिएका थिए ।

पछि उक्त जग्गा पर्सा वीरगञ्ज महानगरपालिका ४ स्थायी वतन भएका गिरधारीलाल अग्रवाललाई व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धानको क्रममा खुल्न आएको हो । पक्राउ परेका ३३ वर्षीय राणालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्सा पठाइएको सीआईबीका प्रवक्ता पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया