Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएटीएमको बैंकिङ कारोबारमा कडाइ

एटीएमको बैंकिङ कारोबारमा कडाइ


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एटीएममार्फत बैंकिङ कारोबारमा केही कडाइ गरेको छ । विश्व महामारीे कोरोना भाइरस संक्रमणको समयमा दोस्रो बैंकको एटीएम मेसिन प्रयोग गरी रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा अब भने बैंक तथा फाइनान्स कम्पनीहरुले यस्तो कारोबारमा शुल्क लिन पाउने भएका हुन् ।

बिहीबार वाणिज्य बैंक, विकास बैंक, एवं फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले पुरानो व्यवस्थामा संशोधन गरी रकम लिन पाउने व्यवस्था गरेको हो । यो व्यवस्था माघ १ देखि लागू हुनेछ । यसअनुसार एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी दोस्रो बैंक तथा फाइनान्स कम्पनीहरुको एटीएम मेसिनमार्फत रकम निकाल्दा शुल्क लाग्नेछ । यसको लागि प्रतिकारोबार २० रुपैयाँ शुल्क तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुुईवटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेछ । तर दुई वटाभन्दा बढी कारोबारको हकमा भने बैंक तथा वित्तीय संस्थाहरुले प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिनसक्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

सोही परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकहरुले सम्बन्धित ग्राहकहरुको पूर्वअनुमति लिएर र सेवाशुल्कबारे पूर्वजानकारी गराएर मात्र इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउनेछन् । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजर नेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफैँ प्राप्त गरी सुचारु गर्नसक्ने व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

राजस्व प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खुल्ने
राजस्व प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खुल्ने भएको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै राजस्व संकलनसम्बन्धी प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खोल्न निर्देशन दिएको हो ।

नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनको लागि यही पुुस २५ गते शनिबारका दिन नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण राजस्व संकलन गर्ने शाखाहरु एवं बैंकको क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्नुपर्ने परिपत्रमा भनिएको छ । पुस २५ गते शनिबार नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया