Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरहराको अन्डरग्राउन्डमा ११ सय सवारीसाधन पार्किङ गर्न सकिने

धरहराको अन्डरग्राउन्डमा ११ सय सवारीसाधन पार्किङ गर्न सकिने


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण तत्काल पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षण गर्दै उनले फागुन मसान्तसम्म काम सक्न निर्देशन दिएका हुन् ।

कोभिड १९ को कारण पुनर्निर्माण कार्यमा केही असहज पारे पनि हालसम्म भएको प्रगति सन्तोषजनक रहेको उनले बताए । साथै उनले सिंहदरबारको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुहरुलाई यथास्वरुपमै कायम राख्न निर्देशन दिए ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्पपश्चात् गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका बैठक कक्ष, प्रतीक्षा कक्षलगायतका संचरचनाहरू, आपत्कालीन तथा अग्नी नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सिंहदरबारको उक्त भवन फागुन ३ गते उद्घाटन गर्ने योजना रहेको छ ।

सिंहदरबारको प्रमुख आकर्षण एवं विसं २०३० सालमा भएको आगलागीबाट बचेको एकमात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पूर्व, दक्षिणपूर्व, तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो । प्राधिकरणका केन्द्रीय योजना कार्यान्वयन इकाइका सहनिर्देशक झपरसिंह विश्वकर्माका अनुसार कार्यालयलाई सुरक्षा र सुविधा दृष्टिले अब्बल हुनेगरी प्रबलीकरण गरिएको छ । केन्द्रीय वातानुकूलित प्रणालीका अतिरिक्त आगलागीको समयमा अत्यन्त छिटो अग्नि शमन गर्ने प्रणाली यसमा थपिएका नयाँ विशेषता हुन् ।

प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको समेत निरीक्षण गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित धराहरा पुगेको उनले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा जिज्ञासा राखेका थिए ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०/१० जना अट्ने क्षमताको लिफ्ट रहने तथा १८औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । हाल २१औं तलाको ढलान सकिएपश्चात् २२औं तला समेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने उनको भनाइ थियो ।

साथै अहिले पानी सुकेको र निकास समेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने ज्ञावलीले बताए । यसैगरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा सिसाले छोपेर एक सजिव भूकम्प संग्रहालयका रुपमा संरक्षण गरिने उनले जानकारी दिए । यसअघि मात्र करिब साढे चार रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुला स्थान पाउने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका सहसचिव भरत अर्यालले धरहरा पुनर्निर्माणको प्राविधिक प्रगतिका बारे जानकारी गराएका थिए । उनका अनुसार धरहरा परिसरको भूमिगत पार्किङस्थलमा चार सयवटा चारपाङ्ग्रे र सात सयवटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरैहदसम्म सम्बोधन हुने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया