Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपानी परेपछि किसान खुशी, हिमाली क्षेत्रमा हिमपात

पानी परेपछि किसान खुशी, हिमाली क्षेत्रमा हिमपात


दोलखा ।
वैशाखको मध्यम समयमा परेको पानी र हिमपातले दोलखाका किसान खुशी देखिएका छन् । करिब आठ महिनादेखि पानी नपर्दा चिन्तित बनेका यहाँका किसानहरू बिहीबार परेको पानीले खुसी भएका हुन् । जिल्लामा प्रमुख दोस्रो खेतीको रूपमा लगाइने मकैखेती वर्षा नभएकै कारण वैशाख घट्किँदा समेत हुन सकेको थिएन । चार महिनाअघिदेखि खेतबारी जोत्न आकाशे वर्षा कुरेर बसेका वैतेश्वर पाइलेका किसान पुष्कर बस्नेतले वैशाखमै भए पनि पानी पर्दा अब मकै रोप्न सहज भएको बताए ।

अघिल्लो वर्ष यो बेला किसानका खेतबारीमा मकै गोड्ने र मल राख्ने समय सुरु हुन्थ्यो । तर यस वर्ष पानी नपरेकै कारण किसानले खेतबारीमा मल सुकाएर राखेका थिए । वर्षा नहुँदा किसानहरूको गहुँखेती समेत बिग्रको थियो । यस्तै पानी परेसँगै जिल्लाको माथिल्लो क्षेत्रमा चिसो बढेको छ । कालिञ्चोक, शैलुङलगायतका माथिल्ला क्षेत्रमा भारी हिमपात भएको छ । पानी नपर्दा फुस्रा बनेका माथिल्लो भेगका वनजंगल र डाँडापाखा वैशाखको मध्यम समयमा परेको हिमपातले सेताम्मे देखिएका छन् । बिहीबार बिहान ५ बजेबाट झन्डै ४ घण्टा हिमपात र वर्षा भएको कालिञ्चोकको कुरीमा रहेको एमपी होटलका सञ्चालक नवराज तामाङले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा भएको हिमपात र वर्षाले आलु किसान पनि खुशी देखिएका छन् । दोलखामा यो समयमा परेको पानीले आलुखेतीमा समेत फाइदा हुनेगर्छ । हिउँदे वर्षा नहुँदा मकै, गहुँ, आलुलगायतका बाली र साग तरकारी फलफूललगायतको व्यवसायलाई समस्या परेको थियो । यो समय पर्याप्त वर्षा चाहिने हुँदा पानीले धेरै किसानलाई उत्पादन वृद्धि तथा खेती गर्न सहयोग पुग्ने भीमेश्वर नगरपालिका मकैबारीका किसान श्याम तामाङले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया