Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको अर्थतन्त्रप्रति एडीबीको सकारात्मक प्रक्षेपण

नेपालको अर्थतन्त्रप्रति एडीबीको सकारात्मक प्रक्षेपण


काठमाडौं।
चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमासिकमा नेपालको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले ऋणात्मक रहेको बेला नेपालको महत्वपूर्ण दातृनिकाय एसियाली विकास बैंकले त्यसको ठीकविपरीत प्रक्षेपण गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने दाबी गरेको छ ।

पहिलो लकडाउनको कारण गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र एक दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको थियो भने त्यसकै असर स्वरुप चालू आवको पहिलो चार महिनामा पनि चार दशमलव छ प्रतिशतले ऋणात्मक बन्नपुगेको हो ।अर्थतन्त्रमा एकपछि अर्को गर्दै बज्रपात भइरहेको बेला एडीबीले एकाएक नेपालको अर्थतन्त्र चालू आवमै राम्रो हुने बताएको हो ।

अहिले कोरोनाको फैलावट तीव्र छ । राजधानी काठमाडौं उपत्यकामा कोरोनाको कारण निषेधाज्ञा सुरु हुनुभन्दा ठीक एक दिनअगाडि एडीबीले उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।राजधानी काठमाडौं उपत्यका मात्र होइन धेरै जनसंख्या र अधिक आर्थिक गतिविधि हुने जिल्लाहरुमा निषेधाज्ञा धमाधम घोषणा भइरहेको छ । यसले देशको समग्र आर्थिक गतिविधिलाई नकारात्मक दिशातिर धकेलिरहेको छ । तर, एडीबीले भने त्यसको विपरीत गएर आर्थिक वृद्धिदर राम्रै हुने बताएको छ ।

एडीबीको उक्त दाबीको कारण वैदेशिक लगानीकर्ताहरुको भने मनोबलमाथि उकास्ने देखिन्छ । एडीबीले चालू आव मात्र होइन आगामी आव २०७९÷०८० मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको हो । एडीबीका अनुसार नेपालमा कोरोनाको भ्याक्सिन लगाउने अभियान चालेको कारण मानिसहरुलाई गम्भीर रुपमा बिरामी पार्नेछैन भने मौसम प्रतिकूलताको कारण कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव चार प्रतिशतले वृद्धि हुने तथा धान उत्पादन पनि एक दशमलव तीन प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।

कोरोना भ्याक्सिनको उपलब्धताको कारण उत्पादनमूलक र सेवामूलक क्षेत्रमा सहयोग गर्ने एडीबीको दाबी छ । कोरोना न्यून हुनासाथ तंग्रिन थालेको अर्थतन्त्रमा भ्याक्सिनले ठूलो सहयोग गर्ने एडीबीको दाबी छ । सरकारले अहिले जारी निषेधाज्ञामा पनि अनुमति लिएर उद्योग, कलकारखाना सञ्चालन गर्न दिने जनाएको कारण अघिल्लो वर्षभन्दा उद्योग क्षेत्रले अहिलेको कोरोना कालमा राम्रै काम गर्नसक्ने अपेक्षा गरिएको छ ।

गत साउनदेखि नै निर्माण क्षेत्रमा काम भइरहेको छ भने यसपटक पनि काम हुने अपेक्षा गरिएको छ । यसले गर्दा अर्थतन्त्रका सकारात्मक सहयोग पुग्ने अपेक्षा एडीबीको छ । एडीबीले मेलम्चीको खानेपानी काठमाडौंमा आएको तथा माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजनाले उत्पादन थाल्ने भएको कारण अर्थतन्त्रका सहयोग पुग्ने जिकिर गरेको छ । एडीबीले चालू आवमा नेपालमा मूल्यवृद्धि पाँच प्रतिशतमा सीमित रहने दाबी पनि गरेको छ । अघिल्लो आवमा मूल्यवृद्धि छ दशमलव दुई प्रतिशत थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया