Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमणको वृद्धिदर भारतमा भन्दा तीव्र संक्रमण २ सय २८ प्रतिशतले वृद्धि

नेपालमा कोरोना संक्रमणको वृद्धिदर भारतमा भन्दा तीव्र संक्रमण २ सय २८ प्रतिशतले वृद्धि


काठमाडौैं ।
नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण दर अधिक रुपमा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा कोरोनाको संक्रमण दर दुई सय २८ प्रतिशतले वृद्धि भएको छ । मृत्युदर पनि त्यही रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणको वृद्धिदर नेपालमा भारतभन्दा बढी देखिएपछि यहाँको अवस्था थप जटिल बन्ने देखिएको छ ।

यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । एक वर्षमा जति सङ्क्रमित फेला परेका छन्, सङ्क्रमित यही दरमा बढ्ने हो भने तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने अनुमान मन्त्रालयको छ । ‘सङ्क्रमितको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्नेछ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले दैनिक एक सयदेखि एक सय ५० जनासम्मलाई गुमाउनुपर्छ’, मन्त्रालयले भनेको छ ।

मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यस हप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिएकी हुन् । यस हप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ । गत वर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेकोमा यस वर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको थियो ।

भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च छ । एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । बुधबार मात्र चार हजार आठ सय ९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार छ सय ९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार दुई सय ७९ जना निको र तीन हजार दुई सय ११ जनाको निधन भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ३४ जनाको परीक्षण गर्दा चार हजार आठ सय ९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । १३ हजार आठ सय ७९ को पीसीआर गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना पुष्टि भएको हो । कुल सङ्क्रमितमध्ये हाल ३० हजार दुई सय नौ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कुल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार चार सय ६४, ललितपुरमा तीन सय ५१ र भक्तपुरमा दुई सय ३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं. १ मा बुधबार दुई सय ५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका एक सय २० मध्ये विराटनगरमा एक सय पाँच, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा दुई, उदयपुर र भोजपुरमा एक÷एक तथा प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ९० पुगेको छ भने सङ्क्रमितमध्ये ३० हजार छ जना सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ७७ पुगेको छ । सोही अवधिमा प्रदेशमा आठ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा ८९ महिला र एक सय ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगरमा मङ्गलबार ६४ जना सङ्क्रमित भएका थिए ।

विभेदपूर्ण निर्णय सच्याउन यातायात व्यवसायीको माग
यातायात व्यवसायीले सरकारले गरेको विभेदपूर्ण निर्णय सच्याउन माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गरी गुड्ने सवारीसाधनलाई बन्द गरेर हवाइजहाजलाई सञ्चालन गर्न दिई सरकारले विभेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् । ‘स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्’, महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया