Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको सरकारी तथ्यांकमा आशंका

कोरोनाको सरकारी तथ्यांकमा आशंका


काठमाडौँ ।सरकारले पछिल्ला दिनहरुमा कोरोना संक्रमण घटेको र संक्रमितभन्दा निको हुनेको दर बढेको देखाए पनि उक्त तथ्यांकमा आशंका गरिएको छ । अहिले गाउँगाउँमा कोरोना लक्ष्यणका ज्वरो आएका, खोकी लागेका बिरामी भए पनि अधिकांशको परीक्षण हुनसकेको छैन । ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, पखाला लाग्ने र संक्रमितको सम्पर्कमा आउनेहरुको व्यापक परीक्षण नगरेसम्म कोरोनाको सरकारी तथ्यांकमा विश्वास गर्न सकिने आधार छैन ।

‘गाउँगाउँमा परीक्षण हुनसकेको छैन’, स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले भने, ‘प्रत्येक गाउँपालिका र नगरपालिकामा क्याम्प नै राखेर परीक्षण नगरेसम्म कोरोना संक्रमित घटेको भन्ने तथ्यांकलाई विश्वास गरिहाल्न सकिन्न ।’ बिहीबारसम्म देशका विभिन्न अस्पतालमा एक हजार छ सय ४५ जना आईसीयूमा र चार सय ५७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । तीमध्ये अधिकांशको स्वास्थ्य अवस्था अझै पनि जटिल छ ।

बुधबार दिउँसोदेखि बिहीबार दिउँसोका २४ घण्टाको अवधिमा उच्च तहका व्यक्तिहरुको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उनीहरु राम्रै तरिकाले उपचार गर्न सक्नेमा पर्छन् । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उच्च तहका व्यक्तिहरुको मृत्युले अवस्था अझै गम्भीर रहेको देखाउँछ । दुई साताअघि वाग्मती प्रदेशका नेकपा एमालेका सांसद पशुपति चौलागाईँको कोरोनाको कारण अस्पतालमा मृत्यु भएको थियो भने बुधबार राति नेकपा एमालेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै कोरोनाको कारण मृत्यु भएको छ । एक हप्ताअघि एमालेकै पूर्वसांसद योगनारायण यादवको पनि उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरु दुवै जना २०५६ सालका एमालेका सांसद हुन् ।

बुधबार राति नै सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख एवं नेपाली कांग्रेसका महासमिति सदस्य मोहनराज मल्लको कोरोनाकै कारण उपचार हुँदै गर्दा मृत्यु भएको थियो । त्यस्तै, नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको सैनिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने केसी नै नेपाली सेनाका सबैभन्दा उच्च अधिकृत हुन् । उनको उपचारमा कुनै कसरी बाँकी राखिएको थिएन । यसले पनि कोरोना कति भयावह छ भन्ने कुराको संकेत गर्छ ।
सुदूरपश्चिम, कर्णालीलगायतका अधिकांश प्रदेशमा ग्रामीण भेग मात्र होइन सहरी क्षेत्रमै पनि पर्याप्त मात्रामा कोरोना परीक्षण भएको छैन । कोरोना परीक्षण गर्ने किटको अभावमा सबैको परीक्षण गर्न नसकिएको हो । सरकारले दैनिक ५० हजारको परीक्षण गरेमा मात्र कोरोना संक्रमितको वास्तविक अवस्था आउनेछ ।

बिहीबारसम्म नेपालमा २९ लाख ९८ हजार ६४ पटक मात्र कोरोना परीक्षण भएको छ । कतिपय व्यक्तिले चार पटकभन्दा बढी परीक्षण गरेको कारण त्यसलाई २९ लाख जनाको मान्न सकिने आधार छैन । नेपालमा बिहीबारसम्म एक लाख १६ हजार चार सय ७६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार भने संक्रमित हुनेभन्दा निको हुनेको दर बढेको छ । परीक्षण नै कम भएको कारण यस्तो देखिएको हो । बिहीबार सात हजार दुई सय २६ जना निको भएका थिए भने छ हजार नौ सय ३९ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार एक सय छ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । उक्त मृत्युमा पूर्वसांसद न्यौपाने, पूर्वप्रदेश प्रमुख मल्ल र सहायकरथी केसीलगायतका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया