Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो चौमासिकमा निर्यात नगद अनुदानका लागि २० करोड खर्च

पहिलो चौमासिकमा निर्यात नगद अनुदानका लागि २० करोड खर्च


काठमाडौं । मुलुकको निर्यात व्यापारमा वृद्धि गर्नका लागि सरकारले हरेक समय निर्यात नगद अनुदान प्रदान गर्दै आएको छ । निर्यातजन्य उद्योगको प्रमोसन तथा निर्यात व्यापार बढाउने उद्देश्यका साथ सरकारले उद्योगले निर्यात गरेबापत नगद अनुदान दिने व्यवस्था गरेको हो । यसैबीच प्रथम चौमासिकमा निर्यात नगद अनुदानका लागि २० करोड रुपैयाँ खर्च भएको उद्योग विभागले जनाएको छ । निर्यात नगद अनुदान रकमबापत सो रकम खर्च हुँदा विभागको वित्तीय प्रगति बढी हुन आएको विभागको भनाइ छ । विभागले प्रथम चौमासिकमा विनियोजित बजेटको ९८ प्रतिशत अर्थात् कुल २१ करोड ४५ लाख रुपैयाँ रकम खर्च गरेको छ ।

सरकारले मुलुकमा रहेको २७ वटा वाणिज्य बैंकबाट निर्यात नगद अनुदानबापतको रकम उद्योग अर्थात् उद्योगीलाई दिँदै आएको छ । सरकारको निर्देशनमा वाणिज्य बैंकहरुले हालसम्म करिब तीन अर्ब रुपैयाँ निर्यात नगद अनुदानबापत रकम वितरण गरेको जनाएको छ ।

सरकारले निर्यातजन्य सामग्रीको आधारमा निर्यात नगद अनुदान ५ प्रतिशत वा ३ प्रतिशत व्यवस्था गरेको छ । अनुसूची १ र २ का वस्तुहरु अर्थात् कुल निर्यातमा मूल्यमा पाँच प्रतिशत नगद अनुदान प्राप्त गर्नेमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रष्ट) र छालाजन्य उत्पादनहरु, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरु, मिनरल वाटर, बेसार (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा, पुष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित मह (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित अलैँची (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित अदुवा (सूठो, स्लाइडिङ, तेल र पाउडरलगायत) (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) रहेका छन् ।

यस्तै अनुसूची २ का वस्तु अर्थात् कुल निर्यातमा मूल्यमा तीन प्रतिशत नगद अनुदान प्राप्त गर्नेमा स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैँचा र उनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरु, सुन, चाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य)का वस्तुहरु, पोलिष्टार यार्न÷फाइबर भिष्कोर्ष यार्न/एक्रेलिक यार्न/कटन यार्न, तामाका सामान (हस्तकलाका सामान, पुजाआजाका सामान, सजावटा समान तथा अन्य भाँडाकुँडा) रहेका छन् ।

विगत पाँच वर्षमा कुल निर्यातमा अनुदान प्राप्त गर्ने अनुसूची १ र २ का वस्तुहरुको योगदान करिब ५० प्रतिशत रहेको देखिन्छ । नगद अनुदानसम्बन्धी व्यवस्थाले निर्यातमा तीन प्रतिशत अनुदान प्राप्त गर्ने अनुसूची २ का वस्तुहरुको कुल निर्यातमा करिब ३७ प्रतिशत हिस्सा रहेको देखिन्छ ।

यता राष्ट्र बैंकले निर्यातमा नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि हालसम्म उद्योगीहरुले वाणिज्य बैंकमार्फत (आव ०६८/०६९ देखि हालसम्म) दुई अर्ब ६० करोड रुपैयाँबराबर निर्यात अनुदान प्राप्त गरेका बताएको छ । आर्थिक वर्ष ०७४/०७५ र ०७३/०७४ मा क्रमशः ८१ अर्ब ३३ करोड र ७४ अर्ब १२ करोड रुपैयाँबराबरको सामग्री निर्यात गरेकोमा उद्योगीहरुले अनुदानबापत क्रमशः २१ करोड १३ लाख र २९ करोड तीन लाख रुपैयाँ प्राप्त गरेका उद्योग विभागले बताएको छ ।

सरकारले आर्थिक वर्ष २०६७/०७८ को बजेट वक्तव्यमार्फत निर्यात गर्ने उद्योगलाई निर्यातबाट प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणको आधारमा नगद अनुदान प्रदान गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि, २०६८ जारी गरिएको थियो । उक्त कार्यविधिलाई समायानुकूल परिमार्जन गरी निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५ कार्यान्वयनमा रहेको छ भने सोहीअनुरुप उद्योगीहरुले निर्यात अनुदान प्राप्त गर्दै आएका छन् ।

विभागका अधिकारीहरुले निर्यात अनुदानले उद्योगहरुमा सकारात्मक प्रभाव परेको समेत बताउँदै आएका छन् । निर्यात अनुदानकै सकारात्मक प्रभावस्वरुप उद्योग अर्थात् उद्योगीहरुले निर्यातजन्य सामग्री उत्पादनमा समेत जोड दिने गरेका जसले गर्दा मुलुकको निर्यात व्यापार वृद्धिमा सहयोग समेत पुग्ने गरेको उनीहरुको भनाइ छ ।

यस्तै, विभागले चालूतर्फ २१ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च गरेको छ । प्रथम चौमासिकको लागि विनियोजित बजेट भने २१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया