Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनधिकृतरुपमा बैंक खाता खोली ठगी गर्ने भारतीय पक्राउ

अनधिकृतरुपमा बैंक खाता खोली ठगी गर्ने भारतीय पक्राउ


काठमाडौं । अनधिकृतरुपमा बैंक खाता खोलेर ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका सूचना अधिकृत प्र्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार ठगी कार्यमा संलग्न भएको उजुरीका आधारमा भारतको कोडामबाक्कम, चेन्नाई, तामिलनाडु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका ४४ वर्षीय शिवम विरमुथु चेटियारलाई पक्राउ गरिएको हो ।

‘एक व्यक्तिले भारतीय नागरिक चेटियारमार्फत आफू ठगिएको भन्दै दिएको उजुरीका आधारमा उनलाई यही कात्तिक २३ गते काठमाडौंको बालुवाटारबाट हामीले पक्राउ गरेका हौँ’, प्रहरी उपरीक्षक कोइरालाले भने । पक्राउलगत्तै प्रारम्भिक अनुसन्धान गर्दा चेटियारले एकै व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको देखिएको र अहिले अन्य व्यक्तिहरु पनि सम्पर्कमा आइसकेको महाशाखाले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाही गर्नको लागि यही कात्तिक २५ गते नै महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र त्यहाँबाट अनुसन्धान भएपश्चात् के कति व्यक्तिहरुको कति कति रकम ठगिएको हो भन्ने बारेमा पुष्टि हुनसक्ने प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार चेटियारले विभिन्न व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगीमार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको समेत खुलेको छ । उनले विभिन्न व्यक्तिहरुलाई प्रलोभन पारी नागरिकता लिने र सोहीमार्फत अनधिकृतरुपमा नेपालका विभिन्न बैंकहरुमा खाता खोलेर अनधिकृतरुपमा रकम अपचलन गर्ने गरेको देखिएको छ ।

चेटियारले ठगी कार्य गर्नको लागि आफू मेडिकल व्यवसाय गर्ने गरेको, नेपालस्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नको लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भइरहेको भनी झूठा कागजात र कुराकानी तयार गरी विश्वास दिलाई विभिन्न व्यक्तिहरुलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको समेत अनुसन्धानबाट खुुलेको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । उनले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी निजको स्वामित्वको जमिनको लालपुर्जा समेत आफ्नो नियन्त्रणमा लिएर ठगी गर्ने गरेको, नेपालस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो परिमाणमा आफ्नो नाउँमा संस्थापक सेयर रहेको भनी झूठा कागजात तथा विवरण देखाई ठगी गर्ने गरेको, आफूलाई इन्टरनेशनल कमिटी अफ दि रेडक्रस (आईसीआरसी) को डाईरेक्टर हुँ भनी नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा चेटियारमार्फत थुप्रै व्यक्तिहरु ठगिएको हुनसक्ने देखिएको समेत प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । ठगी कार्यमा संलग्न चेटियार यसअघि पनि वि.सं. २०७२ साल जेठ २२ गते वैदेशिक रोजगारसम्बन्धी कसुरमा पक्राउ परेको समेत खुल्न आएको छ । त्यतिबेला डिल्लीबजार कारगारमा दुई वर्ष कैद र तीन लाख ५० हजार रुपैयाँ तिरेर कारगारमुक्त भएका व्यक्ति पुनः ठगी कार्यमा नै फर्किनलुे पनि चेटियारमार्फत धेरै व्यक्ति ठगिएका हुनसक्ने देखिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया