Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा विवादित मसरिक बैंक

नेपालमा विवादित मसरिक बैंक

डलर अपचलन र क्रिप्टोलगायतका कारोबार बढ्दा मसरिकको भूमिका शंकास्पद


काठमाडौं । सेञ्चरी कमर्सियल बैंकको करेस्पोन्डेड बैंक मसरिक बैंकको नेपाल च्याप्टर विवादित बन्दै गएको छ । मसरिकले नेपालको धेरैजसो वाणिज्य बैंकहरुको करेस्पोन्डेड बैंकको रुपमा काम गर्ने गरेको र नेपालमा पछिल्लो समय अनलाइन जुवा, क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइनलगायतका भर्चुअल मनीको कारोबार बढ्दै जाँदा नेपालस्थित मसरिक बैंकको भूमिका नै शंकास्पद देखिएको हो ।

मसरिक बैंकको नेपाल प्रमुखको रुपमा हेमा अधिकारी रहेको र सेञ्चुरी कमर्सियल बैंकमा भएको भनिएको १६ करोड रुपैयाँ अपचलन मुुद्दामा अमेरिकी डलरको कारोबारमा मसरिकमार्फत नै सबैभन्दा ठूलो वित्तीय अपराध मानिने नेष्टेड एकाउन्टको प्रयोग भएको खुलेको छ । क्रसबोर्डर कारोबारमा एउटा फाइनान्सियल इन्स्टिच्युसनले अर्को फाइनान्सियल इन्स्टिच्युसनको काम गरेको तर त्यो काम आफ्नो रेगुलेटर (नियमनकारी निकाय) लाई जानकारी नगराई गुपचुपमा कारोबार गरिएमा त्यस्तो कारोबारलाई नेष्टेड एकाउन्ट मानिन्छ । यस्तो कारोबार दुई वा दुईभन्दा बढी देशहरुका बैंकहरुसँगको कारोबारमा हुुने गरेको छ ।

यस्तो कारोबार अहिले सेञ्चुरी कमर्सियल बैंक र सेञ्चुरीको करेसपोन्डेड बैंक, मसरिक बैंक नेपाल च्याप्टरबीच भएको छ । यसरी भएको कारोबारको जानकारी दुवईको मसरिक बैंकलाई छैन । यस अर्थमा पनि मौरिससमा दर्ता रहेको कम्पनी एमएण्डएम रेमिटसँगको कारोबारमा सेञ्चुरी कमर्सियल बैंक र उक्त बैंकको करेसपोन्डेड बैंक मसरिक बैंक नेपाल च्याप्टरको कारोबारमा नेस्टेड एकाउन्टको प्रयोग भएको स्रोतको भनाइ छ । संसारमा जति पनि अमेरिकी डलरको कारोबार हुन्छ, जति पनि देशमा अमेरिकी डलरको कारोबार हुन्छ, अन्तमा त्यो ठोक्किने भनेको न्युयोर्क नै हो । अमेरिकी डलर प्रयोगसम्बन्धी कानुनअनुसार डलर प्रयोगमा जसले जहाँ बसेर डलरको कारोबारमा जसरी अनियमितता गरे पनि त्यो अमेरिकी कानुनको दायरामा आउँछ, डलर अपचलन गरेबापत उसले आर्थिक जरिवाना तिर्नुपर्छ ।

अमेरिकी डलर कारोबारमा जति पनि समस्याहरु देखिन्छन्, त्यसलाई निराकरण गर्न अपचलन गर्नेलाई आर्थिक जरिवाना लगाउने काम न्युयोेर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजले गर्ने गरेको छ । डलर कारोबारमा कैफियत देखिएकै आधारमा न्युयोर्क स्टेट डिपार्टमेन्टले मसरिक बैंक दुवईलाई सन् २०१८ मा ४० मिलियन डलर जरिवाना तिराइसकेको छ । अहिले सेञ्चुरी र एमएम रेमिटबीचको काराबारमा मसरिक बैंकको भूमिका छ । किनकि सेञ्चुरीको करेस्पोन्डेड बैंक नै मसरिक बैंक हो । सेञ्चुरीको क्रसबोर्डर कारोबार मसरिक बैंकमार्फत हुने गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले फण्ड ट्रान्सफर गर्नको लागि मसरिक बैंकको खाता र एमएम रेमिटलाई प्रयोग ग-यो तर सेञ्चुरी बैंकले काम भने अनधिकृतरुपमा ग्यालेक्सी रेमिटको ग-यो, त्यही भएर पनि सेञ्चुरीको कारोबारमा नेस्टेट एकाउन्ट प्रयोग भएको देखिएको स्रोतले भनेको छ । बैंक होस् वा रेमिट्यान्स कम्पनी, आधिकारिक रुपमा कारोबार गर्नको लागि कारोबारमा संलग्न कम्पनीहरुबीच पारस्परिक कारोबारसम्बन्धी सम्झौता भएको हुनुपर्छ । तर सेञ्चुरीले आफ्नै बैंकका पूर्वसञ्चालक, कर्मचारी तथा पूर्वकर्मचारीहरु राजेश श्रेष्ठ, जीवन कुमार भट्टराई, रमेश कुमार श्रेष्ठ आदिको नाउँमा खडा गरिएको ग्यालेक्सी रेमिटसँग अनधिकृतरुपमा कारोबार गरिरहेको थियो । ग्यालेक्सीसँगको सेञ्चुरीको कारोबारमा सेञ्चुरीको आधिकारिक इमेल प्रयोग गरिए पनि यो कारोबार सेञ्चुरीको सिस्टममा देखिएको छैन । जुन कारोबारमा मसिरक बैंकको खाता प्रयोग भएको छ ।

यो विषयमा मसरिक बैंक नेपालकी प्रमुख हेमा अधिकारीले भने सेञ्चुरी, ग्यालेक्सी र एमएम रेमिटबीचको कारोबारमा मसरिकको कुुनै भूमिका र संलग्नता नरहेको यसअघि नै बताइसकेकी छिन् । ‘यदि हुन्थ्यो भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मसरिकलाई पनि पत्र काट्न सक्थ्यो’, उनले केही समयअघि आर्थिक दैनिकका प्रतिनिधिसँग भनेकी थिइन् । यसअघि मसरिक बैंक दुवईलाई न्युयोर्क स्टेट डिर्पाटमेन्टले ४० मिलियन डलर जरिवाना तिराएको रहेछ नि भन्ने प्रश्नमा भने अधिकारीले त्यो संस्थाको काम नै जरिवाना लगाउने भएको र त्यो अर्कै केसमा भएको भन्दै पन्छिने कुरा गरेकी थिइन् । सोपश्चात् नेस्टेड एकाउन्ट प्रयोग भएको विषयमा दुवईको मसरिक बैंकको मुख्यालयलाई इमेलमार्फत जानकारी माग्दा सत्य तथ्य बुझेर जवाफ दिने प्रत्युत्तर पठाएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया