Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशभारतीय कस्टम विभागद्वारा मीरगञ्ज पुल सञ्चालनको अनुमति

भारतीय कस्टम विभागद्वारा मीरगञ्ज पुल सञ्चालनको अनुमति


विराटनगर । भारतीय कस्टम विभागले मीरगञ्ज पुल सञ्चालनको लागि अनुमति दिएको छ । चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेवल पुल बनेको एक वर्षपछि भारतीय पक्षले आधिकारिकरूपमा सूचना जारी गर्दै पुलबाट आवतजावत् गर्न सकिने अनुमति दिएको हो ।

यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चापदार्थलगायतको सामग्री बोकेका मालवाहक गाडी एक सय १६ किलोमिटर सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीका अनुसार अब चार किलोमिटर दूरी पार गर्नासाथ मालवाहक गाडीहरू नेपालको आईसीपी आइपुग्छन् । भारतको पटनास्थित कस्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक गाडी आवतजावत् गर्ने अनुमति दिइएको जनाएको छ । यसअघि भारतको जोगवनीस्थित ल्यान्ड कस्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिकरूपमा मात्रै मालसामानको कार्गाे आयात निर्यात भइरहेको थियो ।

कस्टम विभागले नै सूचना जारी गरेपछि अब तेस्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्ने जनाउँदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । यो सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको मोरङ व्यापार संघले पनि पुष्टि गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिकरूपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको जानकारी दिए । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गाे आउने र जाने गरिएको थियो । तर तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाका नै प्रयोग हुँदैआएको थियो तर अब मीरगञ्ज पुल हुँदै आवतजावत् खुलेको उनले बताए । यो सँगै कार्गो ढुवानीमा सहजता आएको उनले बताए । यसअघि २०२२ जनवरी ११ मा भारतीय पक्षले मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गाेको आवतजावत यो नाकाबाट बन्द गरी सुनसरीको भीमनगर नाकाबाट सुचारु गर्न सूचना जारी गरेको थियो ।

अहिले उक्त सूचनाले रोकेको आवतजावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रिरुट खारेज गरी पुल निर्माणसम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आईसीपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको अध्यक्ष रिजालले बताए । एक वर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल सञ्चालनमा आएसँगै पुल पूर्णरूपमा सञ्चालनमा आएको र दैनिक दुई सयसम्म मालवाहक सवारीसाधान भारतीय कस्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको कुरा विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै एक सय १६ किलोमिटर घुमेर आउँदा १६ हजार रूपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको समेत बताइएको छ । भारतीय पक्षबाट समेत आधिकारिकरूपमा पुलसँगै नाका पनि सञ्चालनमा आएको जानकारी दिएपछि प्रदेश १ को औद्योगिक लाइफलाई नै ध्वस्त भएको बेला केही सहजता हुने यहाँका व्यवसायीको भनाइ छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x