Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकञ्चनपुरका विद्यालय क्वारेन्टाइनले भरिभराउ, आठ हजार बढी व्यक्ति क्वारेन्टाइनमा

कञ्चनपुरका विद्यालय क्वारेन्टाइनले भरिभराउ, आठ हजार बढी व्यक्ति क्वारेन्टाइनमा


धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ २०
विभिन्न देशमा पेशा व्यवसाय तथा अध्ययन गर्नका लागि गएकाहरू कोरोनाको त्रास र भोकमरीको समस्याले घर फर्किने क्रम दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो समयमा सरकारले नेपालको भारतसंगका नाका खोलेर त्यहाँ रहेका नेपालीहरू भित्र्याउन थालेपछि नेपाल फर्किनेको लर्काे लाग्न थालेको छ । सरकारले भारतबाट आएका सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइन राखिने बताएको छ । जसका लागि प्रत्येक स्थानीय तहहरूसँग समन्वय गरेर स्थानीय तहहरूले बनाएको क्वारेन्टाइनमा राखिरहेको छ । यसका लागि पछिल्ला दिनमा स्थानीय तहहरूले क्वारेन्टाइनका लागि सरकारी तथा निजी विद्यालयहरूलाई तोकिएको छ ।

विभिन्न स्थानीयतहहरूले सरकारी तथा नीजि विद्यालयहरूलाई क्वारेन्टाइन तोकेपछि कञ्चनपुरका सबै विद्यालयहरू भरिभराउ भएका छन् । आगामी दिनमा थपिँदै गरेका नेपालीहरूलाई कहाँ राख्ने समस्या सिर्जना हुन थालेको महाकाली नगरपालिकाका नगरप्रमुख बीरबहादुर सुनारले बताए । हालसम्मको विवरण हेर्दा कञ्चनपुरमा करिब आठ हजार बढी व्यक्तिहरू क्वारेन्टाइनमा बसिरहेका छन् । आइतबारसम्म आठ हजार दुई सय ४२ जना क्वारेन्टाइनमा बसिरहेको र अझै आउने क्रम बढी रहको महाकाली नगरपालिकाका नगरप्रमुख सुनारले बताए । हाल उक्त व्यक्तिहरूका लागि करिब एक सय ६६ वटा क्वारेन्टाइन तोकिएका छन् । क्वारेन्टाइनका लागि कञ्चनपुरका सबै शैक्षिक संस्थाका भवनहरू प्रयोग भइसकेका छन् ।

कञ्चनपुरमा सबैभन्दा बढी महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् । जहाँ २२ सय ४४ जना बसी रहेका छन् उक्त भार महाकाली नगरपालिकाले व्यहारी रहेको छ । उक्त व्यक्तिहरूका लागि सबै सरकारी विद्यालय र निजी विद्यालय गरी २५ वटा क्वारेन्टाइन रहेका छन् । यस्तै कृष्णपुर नगरपालिकामा १२ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । कृष्णपुरमा २७ वटा क्वारेन्टाइन बनाइएका छन् ।

पुनर्वास नगरपालिकामा १७ वटा क्वारेन्टाइनमा आठ सय जना बसिरहेका छन् । भीमदत्त नगरपालिकामा ३४ वटा क्यारेन्टाइनमा एक हजार ६० जना बसिरहो छन् । बेलौरी नगरपालिकामा ९ वटा क्वारेन्टाइनमा चार सय एक जना रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा १९ वटा क्वारेन्टाइनमा ११ सय ५५ जना रहेका छन् । यस्तै बेल्डाँडी गाउँपालिकामा १३ वटा क्वारेन्टाइनमा चार सय ९४ जना, वेदकोट नगरपाकिामा १५ वटा क्वारेन्टाइनमा छ सय ७१ जना, लालझाडी गाउँपालिकामा १० वटा क्वारेन्टाइनमा दुई सय जना बसिरहेका छन् ।

व्यवस्थापनमा कठिनाइ, जोखिम बढ्दै : कञ्चनपुरमा भारतबाट आउनेको संख्या बढ्दै गएसँगै क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो बन्दै गइरहेको महाकाली नगरपालिकाका नगरप्रमुख सुनारले बताए । उनले महाकाली नगरपलिका भारतको सीमासँग जोडिएको क्षेत्र भएको र यस क्षेत्रमा नै धेरै व्यक्ति क्वारेन्टाइनमा रहेकाले व्यवस्थापन गर्ने गाह्रो भइरहेको बताए ।

सरकारले चेकजाँच गर्ने आवश्यक जनशक्ति, किट, स्वास्थ्य सामग्री सुरक्षा सामग्री, सुरक्षा जनशक्ति नदिएकोले जोखिम बढेको उनको भनाइ छ । उनले महाकाली नगरपालिका हालसम्म सुरक्षित रहेको भए पनि अब हटस्पट नै बन्न सक्ने बताए । भीमदत्त नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम जप्रेलले दिन प्रतिदिनको बढ्दो चापले विद्यालयमा ठाउँ नपुगेर होम क्वारेन्टाइन राख्नु पर्ने अवस्था आउन थालेको बताए । उनले क्वारेन्टाइनमा रहेका लागि वस्ने र खाने व्यवस्था गर्न नसक्दा स्थानीय जनताहरूकै सहयोग लिइरहेको र सधैँ सहयोग लिन नसकिने हुँदा समेत होम क्वारेन्टाइन राख्नु पर्ने अवस्था आइसकेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया