Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहोल्डिङ सेन्टरमै पीसीआर परीक्षण गर्न स्थानीय सरकारको माग

होल्डिङ सेन्टरमै पीसीआर परीक्षण गर्न स्थानीय सरकारको माग


महेन्द्र शाही
सोलुखुम्बु, साउन ८
सोलुखुम्बुका स्थानीय तहले विदेशबाट आएकालाई होल्डिङ सेन्टरमै कोरोना परीक्षण तथा आवश्यक उपचारपछि मात्रै सम्बन्धित पालिका पठाउन माग गरेका छन् । विदेशबाट आएका चार जनामा एकैपटक कोरोना पोजेटिभ देखिएपछि सबै स्थानीय तहले संयुक्तरूपमा प्रदेश र केन्द्र सरकारसँग होल्डिङ सेन्टरमा नै पीसीआर पीरक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । एकैचोटी गाउँ आउँदा समुदायस्तरमा संक्रमण फैलनसक्ने भन्दै होल्डिङ सेन्टरमा पीसीआर परीक्षण तथा उपचारको व्यवस्था मिलाउन अपिल पत्र जारी गरेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिए ।

जिल्लामा विदेशबाट आएकाहरूमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले प्रदेश र संघीय सरकारसँग माग गरेका हुन् । जिल्लाका ८ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहका प्रमुखको हस्ताक्षर रहेको अपिल पत्रमा वैदेशिक रोजगारीबाट आएकालाई होल्डिङ सेटन्रबाट सिधै सम्बन्धित जिल्ला वा पालिका पठाउँदा जोखिम बढेको भन्दै थप सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरिएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय सरकार जिम्मेवार ढंगबाट काम गरिरहेको भन्दै गाउँपालिकामा स्रोत साधान तथा जनशक्ति समेत अभाव हुँदा चुनौती थपिएको ठहर गरिएको छ ।

भौगलिक विकटता, प्रविधि र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण क्वारेन्टाइनबाट स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउनसमेत समस्या भएको अपिल पत्रमा उल्लेख गरिएको छ । तीन तहको सरकारबीचको समन्वय र स्थानीयको थप सजगताले पनि महामारी रोथाम गर्न सकिने थुलुङदूधकोशी अध्यक्ष असिम राईको भनाइ छ । सोमबार मात्रै वैदेशिक रोजगारीबाट गाउँ आएका जिल्लाका ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएपछि थप स्वास्थ्य सतर्कता अपनाइएको छ । यसअघि पनि जिल्लाका एक पुरुष कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया