Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधुलाम्मे सडकले बजार प्रदूषित

धुलाम्मे सडकले बजार प्रदूषित


सुबास बस्नेत
दोलखा, पुस ८
धुलो नियन्त्रण गर्न भन्दै एक साताअगाडि जिल्लाको भिमेश्वर नगरपालिकाले चरिकोट बजार चोक सातदोबाटोमा रोकेर राखेका सवारीसाधनलाई तल्लो बसपार्कमा सारेर पानी हाल्यो । दुई चार दिन धुलो पनि नियन्त्रण भयो तर अहिले पुनः यात्रु तल्लो बजारमा गाडीबाट झर्न र चढ्न नमानेको बहाना बनाएर पुरानै ठाउँमा सवारीसाधन रोक्न थालेका छन् । हिउँदे मौसम सुरु भएसँगै जिल्लाका प्रमुख सडक क्षेत्रका बस्ती र प्रमुख बजार नै धुलाम्मे बनेका छन् । मध्य दिनमा चल्ने शुखा हावाले उडाएर ल्याएको धुलोले जिल्लाका नागरिकको जनजीवन प्रभावित बनाएको छ ।

जिल्लाको मुख्य सडकको रूपमा काठमाडौँदेखि चरिकोट र जिरी ओहोरदोहोर गर्ने मुख्य राजमार्ग मानिने सडक लामोसाँघु–जिरी सडक निर्माणको आवस्थामा रहेका छन् । यो सडक आसपासमा बसोबास गर्ने स्थानीय र बजार क्षेत्रका स्थानीय दूषित धुलोको कारण मुख देखाएर हिँड्न सक्ने अवस्था छैन । पूर्वी तराईबाट दोलखा जिरी र कालिन्चोक घुम्न आएका पर्यटक हरि दाहालले धुलोकै कारण आफू विगत एक सातादेखि टन्सिल भएर बिरामी परेको बताए ।

प्रदूषित धुलोकै कारण रुघाखोकी र टाउको दुख्ने टन्सिल हुने बिरामीको संख्या दैनिक बढ्ने गरेको स्थानीय स्वास्थ कार्यकर्ताहरू बताउँछन् । ‘हिउँदमा धुलो र वर्षामा हिलाम्य समस्या खेपिरहेका जिल्लाका स्थानीय र बजारका व्यापारीले आफ्नै खर्चमा धुलो हटाउन पानी हालेर धुलो बगाउने गर्छन् तर दैनिक सयौँको हाराहारी पुराना सवारीसाधन ओहोरदोहोर गर्ने हुँदा छिनभरमै धुलो उड्न थाल्छ र पुनः उस्तै हुन्छ’, चरिकोट बजारका कपडा व्यवसायी गणेश बस्नेतले भने । सडकहरूको दुरावस्थाले गर्दा स्थानीयहरूले सास्ती भोग्नुपरेको उनको दुखेसो छ ।

पछिल्लो समय जिल्लाका तिनै तहका सरकारले सडक सुधार भन्दै ६० प्रतिशत बजेट छुट्याउने गरेका छन् । तर, जिल्लाको सडक अवस्था उस्तै देखिन्छ । दोलखा जिल्लाभर लगभग १४ सय किलोमिटर सडक निर्माण भैसकेको जिल्ला सडक विभाग चरिकोटको तथ्यांक छ । जिल्लाभरिका सडकमध्ये मुस्किलले जम्मा दुईवटा सडक सदरमुकाम चरिकोटदेखि उत्तरी क्षेत्र सिंगटीसम्मको ३७ किलोमिटर सडकमा र तामाकोशीदेखि किर्नेसम्मको २० किलोमिटर सडकमा मात्रै धुलोरहित सडक छन् । यीदुई सडक मात्र सहजसँँग यात्रा गर्न सकिने हुँदा धेरैजसो सवारी साधन तल्लो बाटो हुँदै ओहोरदोहोर गर्ने गरेका छन् ।

जिल्लाको स्वास्थ शिक्षाभन्दा पनि सडक नपुगेको गाउँ विरलै भेटिन्छ । सडक पुग्नु सकारात्मक भए हिउँदमा धुलो र बर्खामा हिलो हुँदा यात्रा गर्न निकै सकास हुनेगरेको यात्रुको गुनासो छ । जथाभावि सडकको विकासले मानिसलाई सहजको तुलनामा सकस नै बढी दिएको छ । विनाप्राविधिक अध्ययन र सार्वजनिक वनजङ्गलसँग विनाअनुमति खनिएका सडकहरूले अहिले तीनै तहका सरकार र जनप्रतिनिधिहरूको टाउको दुखाइको विषय पनि सडक बनेको छ ।

दोलखाका पक्की सडकको रूपमा सञ्चालित ५७ किलोमिटर मात्रै सडक रहेका छन् । त्यस्तै लामोसाँघु जिरी सडक खण्डअन्तर्गत चरिकोटसम्मको सडक यतिबेला धुलाम्मे बनेको छन् मोटरसाइकलमा यात्रा गर्ने यात्रु हिँड्ने अवस्था छैन । बसभित्र यात्रा गर्ने यात्रु चरिकोट आइपुदा धुलोले नचिनिने हुन्छन् । सोही खण्डको चरिकोटदेखि जिरीसम्म पनि सडक निर्माण कार्य धमाधम भइरहेकोले चरिकोटदेखि खावासम्मको सडकमा पनि चर्को घामले सुकेको माटो र सडक छेउमा थुप्रैको माटोले मोटरसाइकल र साना–ठूला सवारीसाधनमा यात्रा गर्ने यात्रु धुलो खाएर यात्रा गर्दै आएका छन् । यीबाहेका कच्ची सडकको त तथ्य नै छैन । जताततै धुलैधुलो खाएर सवारी चलाउने पर्ने बाध्यता रहेको चालकहरूको गुनासो रहेको छ । हिलो र धुलोकै कारण यस सडकमा चल्ने सवारीसाधन दैनिक दुर्घटनामा पर्ने गरेका छन् भने सयौं नागरिकले ज्यान गुमाउनु परेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया