Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनरैनापुर गाउँपालिकामा औैद्योगिक ग्राम स्थापना गर्न माग

नरैनापुर गाउँपालिकामा औैद्योगिक ग्राम स्थापना गर्न माग


बाँके ।
अति अविकसित तथा पिछडिएको सूचीमा रहेको बाँकेको नरैनापुर गाउँपालिकाले योजना आयोगसँग औैद्योगिक ग्राम स्थापना गर्न माग गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा औद्योगिक ग्राम स्थापना गर्नको लागी प्रदेश योजना आयोगसँग माग गरेको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा योजना आयोग पुगेको प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले वडा नम्बर ४ मा रहेको गोबर्द्धन धाम, वडा नम्बर ३ स्थित बाबा बर्फानी, वडा नम्बर २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि ध्यानाकर्षण गराएको अध्यक्ष शाहले बताए ।

नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग अन्य विकासका योजना समेत माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले बिस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् कृष्णा केसी नमुनासँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम समक्ष विकासका योजना माग गरेका हुन् । ‘नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रवद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौँ । विकासमा पछाडि परेको क्षेत्र भएका कारण हाम्रो बजेटले सबैतिर नभ्याउने अवस्थाका कारण निरन्तर डेलिगेसनमा गइरहेका छौँ’, अध्यक्ष शाहले भने ।

अध्यक्ष शाहका अनुसार प्रदेश योजना आयोगसमक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगञ्ज पुग्न १८ किलोमिटर दूरी कम हुनेछ । त्यस्तै मटेहियादेखि सोनवर्षासम्मको छ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनवर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको अध्यक्ष शाहले जानकारी दिए । प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया