Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध६ महिना पनि टिकेन सडक कालोपत्रे

६ महिना पनि टिकेन सडक कालोपत्रे


दोलखा ।
दोलखाको तामाकोशी गाउँपालिकाको जफे–मालु–हावा सडकखण्डमा गरिएको कालोपत्रे कमसल भएको पाइएको छ । उक्त सडकखण्डमा ६ महिनाअगाडि गरिएको कालोपत्रे उक्किन थालेको छ । राम्रोसँग प्रयोगमा नआउँदै जताततै कालोपत्रे उक्किन थालेपछि सडक निर्माणको काम गुणस्तरीय नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । कालोपत्रसँगै सडकको छेउतिरको नाला पनि उत्तिकै अव्यवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारअन्तर्गत एडीबीको ८८ प्रतिशत आर्थिक सहयोग र नेपाल सरकारको १२ प्रतिशत लगानीमा उक्त सडक निर्माण गरिएको थियो । सडकको कालोपत्रे गर्ने जिम्मा आरआरआर अर्थात् ट्रिपल आर नामक संस्थाले लिए पनि खण्डखण्डअनुसार स्थानीय पेटी ठेकेदारहरूले काम गरेका थिए ।

सडकको कुनै पनि स्थानमा गतिलो कालोपत्रे नहुँदा सडकमा जताततै खाल्डा पर्नथालेको स्थानीयले बताए । छ महिना नपुग्दै भत्किएको सडकबाट आजित भएका स्थानीय निर्माण पक्ष र स्थानीय तहसँग आक्रोशित छन् । स्थानीय भन्छन्, ‘उसै त गुणस्तरहीन पिच, त्यसमाथि आफ्नो खेतबाट सडक बनाउँन दिएका स्थानीयले आफ्नो मनोमानीमा सडक भत्काएर कुलो बनाउँदा खण्डहर बनेको छ ।’ यता राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ दोलखा भने निर्माण सकेको एक वर्षसम्म सडक मर्मत सम्भारको जिम्मा ठेकदारको नै भएको बताउँछन् । तर कामको अनुगमन गरेर सम्झौता कार्यान्वय गराउन कुनै पनि निकाय गम्ीभर देखिएका छैनन् । पहिलो प्याकेजको काम २०७४ असारमा र दोस्रो प्याकेजको काम सोही वर्षको मंसिरबाट सुरु गरिएको थियो । ५१ करोड ८० लाखमा सम्झौता भएको सडकमा सम्झौताको सर्त र लागतअनुसारको काम भएको देखिँदैन ।

पहिलो खण्ड भीरकोट हुँदै जफे, मालु र सहरे जोड्ने करिब १५ किलोमिटर सडकको ठेक्का तामाङ–कुमार जेभीले र दोसो खण्ड सहरेदेखि हाँवासम्मको करिब ११ किलोमिटर सडक बिरुवा–मस्दिङ देवी–वल्डवाइड जेभीले लिएको थियो । समयमा काम नसक्दा पहिलो प्याकेजको जिम्मा पाएको तामाङ कुमार जेभीले त हर्जना मात्र एक करोड २६ लाख तिरेको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले गुणस्तर सुधार गर्ने खासै चासो नदेखाएको स्थानीयले बताएका छन् ।

गुणस्तरहीन काम भएको बारे नियमन गरेर ठेकेदारलाई कारबाही गर्नुपर्ने पोखरेलले खासै यो सडकमा चासो नदेखिएको देखिन्छ । ढोलीखोला जिरो किलोबाट मालु डाँडागाउँ करिब १० किलोमिटर सडकमै २० भन्दा बढी स्थानमा कालोपत्रे नै गरिएको छैन । खोलाखोल्सीहरू बढी भएको यो स्थानका खोल्सीहरूमा कजवे निर्माण समेत गरिएको छैन । तामाकोसी गाउँपालिकाको केन्द्र भएकै स्थानमा सडक कालोपत्रे नहुँदा समेत स्थानीय तह बेमतलबीजस्तो देखिएको छ । सडकमा बिच्छ्याएको ग्राभेल पानीले बगाएर सडक नाङ्गो भएको छ । सडक छेउमा गाडिएका सबै कभरेज पिलरहरू पहिरोका कारण अलपत्र छन् । करिब ५२ करोड खर्चेर बनाइएका सडक लगायतका पूर्वाधार निर्माणमा भएको मनोमानी रोक्न स्थानीय सरकार र सरोकारवाला गम्भिर देखिएका छैनन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया