सार्वजनिक खरिद नियमावली, २०६४ को नवौं संशोधन सकारात्मक : महासंघ
काठमाडौं,पुस १७
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली, २०६४ को नवौं संशोधनले निर्माण व्यवसायीहरुले उठाउँदै आएका केही महत्वपूर्ण मागहरु पूरा गरेको भन्दै संशोधनलाई सकारात्मक कदमको रुपमा लिएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनाहरुमा निर्माण व्यवसायीहरुलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक भएको जनाएको हो ।
म्याद थपसम्बन्धी पछिल्लो प्रावधानको उपयोग गर्दै तत्काल आ–आफ्ना परियोजना सम्पन्न गर्नका लागि अहोरात्र कार्यक्षेत्रमा खटिन महासंघले मातहतका निकायहरुलाई विशेष निर्देशन दिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने भए पनि प्राविधिक तथा अन्य कारणले केही आयोजनाहरुको काम भने थप गरिएको एक वर्षमा पनि सम्भव नहुने महासंघले बताएको छ । नवौं संशोधनले पूर्वाधारप्रति नेपाल सरकारको प्रतिबद्धता देखिएको भन्दै महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।
“संशोधित नियमावली अनुरुप रुग्ण आयोजना सुचारु भएर रोकिएको भुक्तानी दिन थालेपछि विकास खर्चको दर बढ्न गई मुलुकको समग्र आर्थिक अवस्था नै चलायमान हुने र पुँजीगत खर्चमा वृद्धि भई मुलुकले आर्थिक प्रगति हासिल गर्ने निश्चित छ”, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली”को अवधारणालाई मूर्त रुप दिन महासंघ प्रतिबद्ध रहेको भन्दै महासंघ अध्यक्ष सिंहले भविष्यमा पनि समय सापेक्ष रुपमा पूर्वाधार विकास मैत्री ऐन नियम जारी हुने विश्वास व्यक्त गरे ।
“मुलुकको बदलिँदो परिवेशमा निर्माण उद्योगको दक्षता, क्षमता, सेवामा गुणस्तरीयता, पेशागत व्यवसायिकता एवं जिम्मेवारीप्रतिको प्रतिबद्धताले मात्र समग्र राष्ट्रको विकासले सही गति लिन सक्छ” महासंघको विज्ञप्तिमा उल्लेख छ । पेशागत हकहित संरक्षण तथा निर्माण उद्योगकोे गुणस्तर अभिवृद्धि गरी विश्वसनीयता एवं व्यवसायीक प्रवर्द्धन गर्न परामर्शदाता, सार्वजनिक निकाय र निर्माण व्यवसायी इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न प्रतिबद्ध हुनुपर्ने महासंघले जनाएको छ ।
नवौं संशोधन व्यवसायीमैत्री रहेको भन्दै महासंघले आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेको छ । प्रतिबद्धता अनुरुप महासंघ अन्तर्गत रहेका ७ वटै प्रदेश महासंघ, ७७ वटा जिल्ला संघ र एसोसिएट सदस्यहरु समेत गरी करीब १५ हजार निर्माण व्यवसायी सदस्यहरुलाई यथाशिघ्र काम सुरुवात गरी समयभित्र सम्पन्न गर्न सर्कुलर जारी गरिने महासंघले जनाएको छ । यसरी म्याद थप हुने कार्यहरुको समयभित्रै सम्पन्न गराउन महासंघले जिम्मेवारी लिने महासंघका महासचिव रोशन दाहालले बताए । निर्माण व्यवसायीले बाँकी कार्य सम्पन्न गर्न पेश गरेको कार्यतालिकाअनुसार कार्य सम्पन्न गर्नुपर्ने र उक्त अवधिभित्र कार्य सम्पन्न नगर्नेको हकमा ठेक्का तोडी धरौटी जफत गरी कानुनबमोजिम कारबाही गर्ने कार्यमा महासंघको सहयोग र सहमति रहने समेत महासचिव दाहालले बताए ।
यसरी म्याद थप भएर पनि काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न सिफारीस गरिने, साथै म्याद थप भएको समयमा सम्बन्धित निर्माण व्यवसायीले काम गरेको छ/छैन सो समेतको अनुगमन महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको निर्माण व्यवसाय विकास परिषद्बाट संयुक्त रुपमा गरिने महासंघले जनाएको छ । म्याद थप गर्दा महासंघको सिफारिस समेत अनिवार्य हुनुपर्ने महासंघले बताएको छ । महासंघका उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले सरकारसँग सबै खाले सहकार्य गर्दै निर्माण क्षेत्रलाई समृद्ध बनाउन महासंघ तयार रहेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया