Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटन कक्षा गार्मामा हुनुपर्ने स्थानीयको माग

पर्यटन कक्षा गार्मामा हुनुपर्ने स्थानीयको माग


सोलुखुम्बु ।
पर्यटनसम्बन्धी कक्षा सोलुखुम्बुको गार्मामा हुनुपर्ने भन्दै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान काठमाडौंलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् । सोलुदूधकुण्ड नगरपालिका ७ गार्माका स्थानीयले गार्मामा स्थापित नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा हुनुपर्ने कामहरुका बारेमा असन्तुष्टि जनाएका हुन् । प्रतिष्ठानअन्तर्गतको भौतिक निर्माण कार्य कछुवा गतिमा भएको भन्दै सन् २००२ देखि हालसम्म जग्गाको मुआब्जा समस्याको रुपमा रहनु दुःखद भएको उनीहरुको भनाइ छ । स्थानीयले जनप्रतिनिधि र स्थानीय प्रशासनलाई बेवास्ता गर्दै कर्मचारीहरुको स्वेच्छिक कार्यसम्पादनले कलेज गार्मामा सञ्चालन गर्न रुचि नरहेको प्रष्ट भएको आरोप समेत लगाएका छन् ।

स्थानीयले ध्यानाकर्षण पत्रमा आगामी सेमेष्टरका कक्षाहरु गार्मामा नै सञ्चालन गर्न र प्रतिष्ठानको वेभसाइटमा सैद्धान्तिक कक्षा काठमाडौंमा र प्रयोगात्मक कक्षा सोलुको गार्मामा भन्ने लेखिएको कुरा तत्काल सच्याइ दुवै कक्षा सोलुखुम्बुको गार्मामा नै हुने भन्ने वाक्य लेख्न माग समेत गरेका छन् । स्थानीयले जग्गाको मुआब्जा विवाद तत्काल सम्बोधन गर्न, रिक्त बोर्ड सदस्य स्थानीयमध्ये तुरुन्त नियुक्त गर्न माग गरिएको सरोकारवाला डा.खड्गनारायण श्रेष्ठले जानकारी दिए । ध्यानाकर्षण पत्रमा स्थानीय १४ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यसअघि केही समयअघि पर्यटन मन्त्रीको सोलुखुम्बु भ्रमणमा समेत स्थानीयले तत्काल कक्षा सञ्चालन, जग्गाको मुआब्जा वितरणको समस्या समाधान गर्न माग समेत गरेका थिए । ध्यानाकर्षणपत्र बुझ्दै एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले एकेडेमी स्थापना गर्दाताका भएका कठिनाइका कथा सुनाउँदै विभिन्न बाधा व्यवधान भएको र यसका बाबजुद पनि छिटोभन्दा छिटो सोलुखुम्बुमै कक्षा सञ्चालन गर्ने बताए । सम्बन्धित मन्त्रालय र मन्त्री, जिल्लाका सांसद, पार्टी लगायतलाई पनि ध्यानाकर्षण गराउने स्थानीय सरोकारवालाहरुले बताएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया