Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकरोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ

करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ


दोलखा ।
तामाकोशी नदिमा माछा मारेर गुजारा चलाउने दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोट माझी गाउँका लक्षुमन माझीलाई करोडौँ रूपैयाँको राजस्व अपचलनको मुद्दामा फसाउने समूहका एक जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

दोलखा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १२ का महेन्द्र यादवलाई माझी गाउँबाटै पक्राउ गरेको हो । पक्राउ परेका महेन्द्रलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । महेन्द्र पक्राउ परेसँगै थप समूहको पहिचान हुने प्रहरीले जनाएको छ । कपडा बेच्न आउनेगरेका उनै यादवले माझीलाई राहत दिने भन्दै ठगी गिरोहको समूहसँग भेट गराइदिएका थिए ।

उक्त समूहले माझी बस्तीका लक्षुमन माझीको नागरिकता अपचलन गरेर पीआरके ट्रेड इन्टरनेसल कम्पनी दर्ता गरेर पाँच करोड ५६ लाख राजस्व चुहावट गरेको थियो । माझीको नाममा रहेको कम्पनीले राजस्व चुहावट गरेपछि उनीविरुद्ध राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

तामाकोशीमा माछा मारेर गुजारा चलाउने माझीविरुद्ध करोडौँको मुद्दा दायर भएपछि उक्त समाचारलाई आर्थिक दैनिकले विशेष प्राथमिकता दिएर प्रकाश गरेको थियो । उक्त समाचारपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले एक महिनादेखि विशेष चासो दिएर माझीको नाममा कम्पनी दर्ता गरेर राजस्व छली गर्ने ठग गिरोहको खोजी गरिरहेको छ ।

यादवको समूहले लछुमनका छोरा दिनेश माझीको नाममा समेत जनकपुर लगेर कम्पनी दर्ता गरेको पाइएको छ । यसैगरी सोही गाउँका शरण माझीलाई विरगञ्ज, विपिन माझी, नारायण माझी, देवेन्द्र माझी र मोहन काफ्ले र केसब थापालाई देशका विभिन्न सहरमा लगेर कम्पनी रजिष्टारको कार्यालय पु-याई नागरिकता अपचलन गरेर फसाउने अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया