Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वरोजगारमूलक मिडियाहरूलाई सहुलियतपूर्ण कर्जा

स्वरोजगारमूलक मिडियाहरूलाई सहुलियतपूर्ण कर्जा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरूको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नेबारे सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल पत्रकार महासंघद्वारा केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले सहुलियतपूर्ण कर्जाको आवश्यक व्यवस्था मिलाउन राष्ट्रबैंकसँग पनि कुरा भइसकेको जानकारी दिए ।

यस्तै मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामूहिक प्रयत्नबाट राहतसम्बन्धी उचित निर्णय गरिने स्पष्ट पारे । दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

साथै उनले संविधान रक्षाको आन्दोलनमा मिडिया क्षेत्रले खेलेको भूमिकाको प्रशंसा समेत गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढतापूर्वक उभिने भन्दै उनले गल्ती कमजोरीहरू औंल्याएर रचनात्मक सहयोग गर्न आम सञ्चारजगत्लाई आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरूको लागि राहत र पुनस्र्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मानलगायतका विषयहरूमा सरकार प्रतिबद्ध रहनुपर्ने बताए । उनले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिए ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारहरूको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए ।

महासंघले अर्थमन्त्रीसँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको थियो । यस्तै कार्यवाहक अध्यक्ष विष्टले बजेट कार्यान्वयनका साथसाथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया