Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसार्वजनिक विदाको दिनमा पनि नर्भिकले ओपीडी खोल्ने

सार्वजनिक विदाको दिनमा पनि नर्भिकले ओपीडी खोल्ने


काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक विदाको दिनमा ओपीडी सेवा दिने भएको छ । यो सातादेखि नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

यस्तै तीजको विदाको दिन पनि नर्भिकले ओपीडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिँदै शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

उनका अनुसार व्यस्त काठमाडौंबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपीडी सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी सञ्चालन गरिने ओपीडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।

यसैगरी, नर्भिक अस्पतालले ओपीडीको सन्ध्याकालीन सेवा समेत सञ्चालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए । दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो ।

यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छुटसम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तर्राष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया