Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसडक निर्माणमा नौ करोड लगानी

सडक निर्माणमा नौ करोड लगानी


सुवास बस्नेत
दोलखा, माघ २०
बैतेश्वर गाउँपालिकामा पालिका जोड्ने २७ किलोमिटरको फ्रास्ट ट्र्याकसहित २ वर्षमा २७ वटा शाखा सडक निर्माण भएका छन् । गाउँपालिकाको केन्द्र हुँदै चल्ने मुख्य सडकको दुईतर्फबाट पिच गरिने भएको छ भने अन्य शाखा सडकको भने सोलिङ गरिएको छ । गाउँपालिकाले यी सबै सडक निर्माण गर्न करिब नौ करोड बजेट खर्च गरेको छ । पालिकाले पालिकाभित्रका ८ वडालाई पायक पर्ने २७ किलोमिटरको मुख्य सडकको कालोपत्रेको काम आंशिकरूपमा सुरु गरिसकेको छ । पालिका जोड्ने मुख्य सडकको कालोपत्रेको काम गोपी खोला गैरिमुदीबाट दुई करोडको लागतमा मैया निर्माण सेवाले सुरु गरेको छ ।

त्यसैगरी दोस्रो चरणमा पालिकाको मैनापोखरी फेदी सडकको पनि कालोपत्रे गर्न दुई करोड बजेट छुट्याएको छ । यी दुवै सडकको कालोपत्रे गर्न गाउँपालिकाले चार करोड बजेट विनियोजन गरेको हो । त्यसैगरी बागमती प्रदेश सरकारले गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने खानीखोला पुल निर्माणको लागि दुई करोड ४० लाख बजेट दिएको छ । उक्त पुल निर्माणको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष छवि लामाले आर्थिक दैनिकलाई बताए । बैतेश्वर गाउँपालिकाले छोटो दूरीका अन्य २७ वटा शाखा सडक निर्माण गर्न करिब पाँच करोड बजेट खर्च गरिसकेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार स्थानीय सरकार बनेपछि गाउँगाउको समस्यालाई स्थानीय सरकारसँग जोड्ने उद्देश्यले छोटो दूरीका सडक निर्माण गरिएको हो । गाउँपालिकाभित्रका वडा १ देखि ८ सम्म २७ वटा सडक निर्माण भएका छन् । अहिले गाउँपालिकाले सडकको स्तरोन्नति गर्दैै सडक टिकाउन सोलिङ बिछ्याउने र साइट कटिङसँगै सडक नाला निर्माण गर्न वार्षिकरूपमा साधारण बजेट छुट्याइरहेको गाउँपालिकाका अधिकृत विक्रम कार्कीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले किसानलाई लक्षित गरेर करिब ६० लाख बजेट खर्च गरेर चारवटा सडक निर्माण गरेको छ । निर्माण भएका कृषि सडकको दूरी ५ किलोमिटरभन्दा कम रहेको उनले बताए । गाउँपालिकाले भर्खर मात्र पालिकादेखि खानीखोलासम्मको ३ किलोमिटरको लप्से निमकोट सडक निर्माण सम्पन्न गरेको छ । करिब छ लाखको लागतमा उक्त सडक निर्माण गरिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया