Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविकासमा लम्किँदै शैलुङ गाउँपालिका

विकासमा लम्किँदै शैलुङ गाउँपालिका


दोलखा । जिल्लाको शैलुङ गाउँपालिका प्राकृतिक हिसाबले भरिपूर्ण भए पनि दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ । यस गाउँपालिकामा निकै महत्वपूर्ण पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक रूपमा सुन्दर गाउँपालिका भए पनि विकासको हिसाब भने यो पालिका धेरै पछाडि रहेको छ । हाल पालिकाले बिस्तारै विकासमा गति लिन थालेको छ ।

गाउँपालिकामा अहिले धमाधम स्थानीय विकास निर्माणका संरचना निर्माण हुँदै गएका छन् । काठमाडौँ उपत्यकाबाट नजिक रहेको यस गाउँपालिका ओहोरदोहोर गर्ने मुख्य सडक निर्माण हुन नसके पनि गाउँपालिका अन्य दर्जनौँ विकास निर्माणका कामहरू भने धमाधम निर्माण भइरहेका छन् । पालिकाले जनताका आवश्यकता हेरेर विकास निर्माणका योजना बनाएको र त्यसलाई कार्यान्वयनमा लगिएको गाउँपालिका अध्यक्ष भरत दुलाल बताउँछन् । उनका अनुसार गाउँपालिकाको सक्रियताले पालिकाभित्र रहेका ग्रामीण सडक तथा खोलामा नौवटा पुल निर्माण सम्पन्न भएका छन् । पालिका तथा प्रदेश र केन्द्र सरकारको समपुरक अनुदानमा पालिकाभित्रमा चारवटा मोटर गुड्ने मोटरेवल पुल र पाँचवटा मानिस हिँड्ने झोलुङ्गे तथा ट्रसका पुल निर्माण भएको उनले बताए । स्थानीय सरकार बनेपछि शैलुङले विकासमा गति लिन थालेको उनको दाबी छ ।

गाउँपालिकाले पालिकाको केन्द्रमा आफ्नै कार्यालय भवन तथा अन्य पाँचवटा वडाको कार्यालय भवनको निर्माण सकेको छ । त्यसैगरी गाउँपालिकाभित्र ११ वटा स्वास्थ्य कार्यालयको भवन निर्माण तथा वर्थिङ सेन्टर, कोरोना भाइरसका बिरामीको उपचार गर्न २५ बेडको कोभिड अस्पताल र १५ श्ययाको अस्पताल भवन, भूकम्पले ध्वस्त बनेका ३४ वटा विद्यालयका भवनको निर्माणसम्पन्न गरेको उनले बताए । यस्तै १६ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरुवात गरेको उनले बताए । गाउँपालिकाको सक्रियतामा जिल्लाकै ठूलो खेलमैदान पनि शैलुङ गाउँपालिकाले निर्माण गरेको उनको भनाइ छ । उनका अनुसार पालिकाभर १७ वटा खेलमैदान रहेका छन् । यस्तै उनले एक हजार घरपरिवारलाई खानेपानी सुनिश्चितता गर्नुको साथै घरमा धारा र खानेपानी जोहो गर्न रिचार्ज पोखरी निर्माण गरेको बताए । गाउँपालिकाले चारवटा कृषि उपज संकलन केन्द्र निर्माण गर्नुको साथै पाँचवटा चिस्यान केन्द्र समेत निर्माण सम्पन्न गरेको छ ।

यस्तै पर्यटकीय स्थान शैलुङमा विभिन्न गुम्बा, मठ मन्दिर, मूर्ति, त्रिशूलघण्टी तथा भ्युटावर निर्माण सम्पन्न भएका छन् भने शैलुङलाई चिनाउने अन्य मिनी ग्रेडवाल, शैलुङ साइन्स पार्कलगायतका संरचना निर्माण सम्पन्न हुने चरणमा रहेका छन् । संघीय राजधानी काठमाडौँबाट करिब एक सय २० किलोमिटरको दूरीमा पर्ने जिल्लाको माथिल्लो क्षेत्रमा रहेकोे धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा सयौँ मानिस घुम्न पुग्ने गर्छन् । यस्तै गाउँपालिकालाई प्रविधिमा विकास गर्न अहिले गाउँपालिकाले ईन्टरनेट विस्तार गरिरहेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया