Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौंको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाउन सुरु

काठमाडौंको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसाउन सुरु


काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै बिसर्जनका लागि बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाडाँतर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायतका क्षेत्रमा फोहोर उठे/नउठेको अनुगमन गरेकी थिइन् ।

हाल काठमाडौं र ललितपुरबाट एक सयवटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अब निरन्तर फोहोर बिसर्जन गरिने बताए । मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर बिसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

काठमाडौंमा नयाँ मेयरको आगमनअगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए । यसअघि सिसडोलमा फोहोर बिसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर बिसर्जन गर्न समस्या भएको थियो । काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् । फोहोर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया