Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबुटवलमा नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी आयोजना हुने

बुटवलमा नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी आयोजना हुने


काठमाडौं । आगामी असार ३ र ४ गते बुटवलमा नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ÷संस्थाहरूको सहकार्यमा प्रर्दशनी हुन लागेको हो ।

प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा पहिलो पटक उक्त प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चिया संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स टी प्रोड्युसर एसोसिएसन, नेपाल टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आबद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्यरूपमा सहभागिता रहने सो कार्यक्रममा एक सयभन्दा बढी चिया व्यवसायीहरूको उपस्थिति रहने आयोजकको भनाइ छ ।

नेपालको तराइ क्षेत्रमा विशेषगरी झापा जिल्लामा सीटीसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चियाअन्तर्गत विभिन्न प्रकारहरू चियाहरू बनाइने गरिन्छ । नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आव २०७७/०७८ को तथ्यांकअनुसार नेपालले तीन अर्ब ७९ करोड रूपैयाँभन्दा बढी मूल्यको चिया निर्यात गरेको छ ।

नेपालमा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास एक सय ५० वर्षभन्दा पुरानो रहेको छ । आव २०७७।०७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपण भएको र २३ हजार सात सय ४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको बोर्डले जनाएको छ । १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया