Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘सहकारीले संकलित पुँजीलाई उचित परिचालन गर्न सकेनन्’

‘सहकारीले संकलित पुँजीलाई उचित परिचालन गर्न सकेनन्’


काठमाडौं । सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पुँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा भएको गोष्ठीमा उनले सहकारीले सदस्यबाट संकलित पुँजीको उचित परिचालन गर्न नसक्दा समस्या भएको बताए ।

‘नियमाकीय दृष्टिकोणमाः सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरीवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरीवेक्षण प्रभावकारीरूपमा गर्नुपर्ने उनको भनाइ छ । हाल सहकारीमा आन्तरिक समस्या धेरै देखिएको उनले बताए । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारीरूपमा बहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासीनता, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सहकारी क्षेत्रमा समस्या देखएको उनले बताए । यसैगरी कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विनाधितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारिता नहुँदा, ऋण जोखिमलाई ध्यान पु¥याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट विनाधितो पाँच अर्बसम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए । अन्धाधुन्ध र खुद्रा पसलजस्तै सहकारी संस्थाको दर्ता दिने प्रक्रिया रोक्नुपर्ने उनको भनाइ थियो । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औँल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाइ छ । त्यस्तै, अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए ।

यस्तै, विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेसनल एड्भोकेसी एन्ड रेगुलेटरी काउन्सिल एरिक ओ हर्नले सहकारी संस्थाको दिगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्ने बताइन् । गोष्ठीमा ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयमा कार्यपत्र पेस गर्दै उनले लेखा सुपरीवेक्षण समितिले सहकारीको सञ्चालक समितिलाई पनि सही किसिमले सल्लाह दिएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले संस्थाका सञ्चालकले व्यक्तिगत स्वार्थका लागि काम गर्न नहुने पनि तर्क राखिन् ।

यस्तै, पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताए । उनले सहकारीको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको धारणा राखे । ‘बैंकहरू समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरू समस्यामा छन् । तर यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्,’ उनले भने । यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको बताए । ‘हामीले आफैं काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो, स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ, अराजकताले संकट ल्याउँछ, स्वायत्तभन्दा संकट आएको हो, दोस्रो तहको नियामक अतिआवश्यक छ,’ उनले भने ।

नेफ्स्कनको आयोजनामा मंगलबारदेखि भएको लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे निष्कर्ष तथा प्रतिबद्धताहरू जारी गर्दै बुधबार सम्पन्न भएको छ । गोष्ठीले पाँच बुँदे प्रतिबद्धता पनि जाहेर गरेको छ भने नीतिगत तथा कानुनी अनुकूलनका लागि सरकारसमक्ष सात बुँदे माग गरेको छ । बचत तथा ऋण सहकारीको गुणात्मक विकासका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरी स्व–नियमन र स्वअनुशासनका माध्यमबाट प्रबर्द्धन, सुदृढीकरण र शुद्धीकरण गर्न १२ बुँदे प्रतिबद्धता जारी गरिएको नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताए ।


क्याटेगोरी : बिबिध, सहकारी–कृषि
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया