Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बु अस्पतालमा औषधि अभाव

सोलुखुम्बु अस्पतालमा औषधि अभाव


महेन्द्र शाही
सोलुखुम्बु, फागुन ९
जिल्ला अस्पताल फाप्लुमा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट रिफर भएका र सिधै पुग्ने बिरामीको उपचार गरिन्छ । अहिले दैनिक ३० देखि ३५ जना बिरामी उपचारका लागि यहाँ आउँछन् । तर औषधि तथा उपकरण र जनशक्तिको अभावका कारण उपचार पाउन नसकेको बिरामी र उनका आफन्तले गुनासो गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका जीतबहादुर कार्की उपचारका लागि अस्पताल पुगे । ८३ वर्षीय उनी अस्पतालमा पुगेर चेकजाँच त गराए तर डाक्टरले लेखिदिएको औषधि पाएनन् । उनी भन्छन, ‘बिरामीसँग बोल्ने स्वास्थ्यकर्मीको ढंगसमेत छैन ।’ बिरामीसँग रिसाउने र झर्किने गरेको उनको भनाइ छ ।

यता पञ्चनका शम्भु निरौला ९२ वर्षीय बुबाको उपचारका लागि आइतबार राति जिल्ला अस्पतालमा पुगेका थिए । उनले भने डाक्टरले लेखिदिएको औषधि निजी मेडिकलमा किन्न बाध्य भए । उनी भन्छन, ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवासमेत पाइएन ।’ यसरी हेर्दा जिल्ला अस्पाल रिफर सेन्टरका रूपमा परिणत भएको छ ।

जिल्ला अस्पतालकी डाक्टर स्मृति गौतमले अस्पतालमा केही दिनदेखि औषधि अभाव भएको स्वीकार्छिन् । उनी भन्छिन, ‘केही औषधि अभाव भएको सत्य हो । अभाव भएका औषधि अस्पताल व्यवस्थापन समितिसँग माग गरेका छौँ ।’ केही बिरामी र आफन्तले गुनासो गरेजस्तो भिडियो एक्सरेलगायतका सेवा नपाएको गुनासो सत्य नभएको उनको दाबी छ । संघीय संरचनामा प्रदेश मातहतमा रहेका अस्पतालमा पहिलेको तुलनामा दरबन्दी समेत कटौती भएको छ । घटेको दरबन्दीअनुसार पनि स्वास्थ्यकर्मी नहुँदा प्रभावकारी सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया