Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुरधाममा गुठीको जग्गा व्यक्तिगत गर्ने षड्यन्त्र

जनकपुरधाममा गुठीको जग्गा व्यक्तिगत गर्ने षड्यन्त्र


जनकपुर । जनकपुरधामको वडा नं. ८ स्थित करिब १० कठ्ठा जग्गा भू–माफियाले आफ्नो नाममा दर्ता गर्न लागिपरेको रहस्य खुलेको छ । भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको सो जग्गाको कागजात नापी कार्यालय धनुषामा पुगेपछि शंका उत्पन्न भएको हो ।

कार्यालयले गत साउन ४ गते दुईवटा सम्बन्धित कार्यालयलाई सो जग्गाको स्पष्ट विवरण बुझाउन पत्र समेत काटेको छ । नापीले मालपोत कार्यालय धनुषा र वडा कार्यालय जनकपुरधाम–८ लाई पत्र काटेको देखिन्छ । नापीले मालपोतलाई काटेको पत्रमा जनकपुरधाम वडा नं. ८ मा अवस्थित कित्ता नं. २७४ को ३ कठ्ठा १९ धुर र कित्ता नं. २७५ को ६ कठ्ठा २ धुर जग्गाको सक्कल टिप्पणी निर्णयको सक्कल फाइल, कित्ताको श्रेस्ता उतार समेत मगाएको छ । साथै वडा नंं. ८ को वडा कार्यालयलाई काटेको पत्रमा सो कित्ताको जग्गाहरूमा हाल कसले भोगचलन गरिरहेको छ स्पष्ट हुनेगरी सरजमिन फिल्ड मुचुल्कासहितको सिफारिस पठाउन भनिएको छ । यस विषयमा नापीसँग सम्पूर्ण विवरण माग्दा नापी स्रोतले तत्काल धेरै खुलाउन चाहेनन् ।

त्यसैगरी जग्गा नामसारीको विषयमा मालपोत कार्यालय धनुषामा सम्पर्क गर्दा कार्यालय प्रमुख नभएको खण्डमा निमित प्रमुख बनेका सरोज सिंहले जग्गासम्बन्धी विवरण दिनबाट इन्कार गरेका छन् । एक स्रोतका अनुसार यस जग्गाको सम्बन्ध दोहोरो नागरिकताको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आनन्द मिश्र (आनन्द मोहन शरण) सँग समेत हुनसक्ने बताइएको छ । मिश्रले सो जग्गा हतार–हतार नामसारी गर्न चाहेकै बेला उनी जेल चलान हुने अवस्था आएको र नापीलाई शंका भएपछि पत्र काटेको हुनसक्ने स्रोतको भनाइ छ ।

नापीका कर्मचारीले कार्यालयप्रमख नरहेको भन्दै जग्गासम्बन्धी सम्पूर्ण जानकारी दिन आनाकानी गरेका छन् । पत्रका विषयमा वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंहले आफूहरूलाई पत्र प्राप्त भएको र जग्गामा गुठीसहित केही व्यक्तिहरू समेतले आ–आफ्नै दाबी गरिरहेको बताए । नाम खुलाउन नचाहे पनि सिंहले एक जना पत्रकारसहित दुई÷तीन जना व्यक्तिले सो जग्गामा दाबी गरिरहेको बताउँदै आफूहरू सबै कुरा बुझेर मात्र भन्न सकिने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया